असार २० । केही समयअघि पश्चिम नेपाल र भारतको उत्तरखण्डमा गएको बाढीले सयौँ नेपाली तथा भारतीयले ज्यान गुमाउनुपर्यो । लाखौँ करोडौँको क्षति भयो ।

सोही भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर रुकुम झुला गाविसका डिल्लीबहादुर ओलीको पनि मृत्यु भएको भन्ने खबर सुने पछि अन्य बाढी पीडित परिवारजस्तै ओलीको परिवार पनि भावविह्वल बन्यो । केही दिनपछि भने मृतकको आत्माले चिरशान्ति पाओस् भनेर परम्परा अनुसार परिवारले काजक्रिया समेत थाले ।

काजक्रियाको चार दिन बितेको थियो । तर सो दिन भने मृत्यु भई सकेका भनिएका उनै ओली जीवितै टुप्लुक्क घरमा झुक्किए । मरेका भनिएका व्यक्ति घर आइपुगेपछि घरका मान्छेमा दुःखित त हुनै भयो उत्ति नै उत्साह समेत छायो ।

जिवित व्यक्तिको काजक्रिया गरेकोमा उनीहरु दुःखित बने भने मृत भनिएका व्यक्ति जिवित नै आएपछि उनीहरु हर्षित समेत भएका हुन् ।

त्यसपछि त्यहाँ ठूलै होहल्ला मच्चियो । अन्त्यमा किरिया बसेका उनीहरुले आफन्त आएपछि खसी काटेर भोज लगाए र ४ दिने क्रियाको अन्त्य पनि गरे ।

उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको खबर घर परिवारले पाएपछि यस्तो घटना घटेको हो ।

अहिलेसम्म कामको सिलसिलामा त्यहाँ पुगेका कति नेपाली थिए र कति त्यस बाढीमा परे भन्ने यकिन छैन। तर धेरै जसो मध्य तथा सूदुरपश्पिचका मानिसहरु बाढीमा परेको खबर आएको छ।

घरमा मृत्युको खबर आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन गरेका थिए तर घरपरिवारले विश्वास गरेनन्। तर आफू नमरेको पुष्टी गर्न उनि घरनै आउनुपर्‍यो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।