असार २० । संविधान विपरित सर्वोच्च अदालतका प्रधानन्यायाधिस समेत रहेका खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषद अध्यक्ष बनेको भन्दै परेको सबै रिटहरुमाथि आजदेखि अदालतमा सुनुवाई सुरु हुने भएको छ ।

रेग्मी विरुद्ध परेका रिटहरुमा ९ जना न्यायाधीशरुहरुको विशेष इजलासले आजदेखि सुनुवाई सुरु गर्नेछ ।

रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै अदालतमा परेको रिट सहित अरु रिटको एकमुष्ठ सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । मुद्दाको अन्तिम फैसलाका लागि आजदेखि बहस सुरु हुन लागेको हो ।

एउटै व्यक्ति कार्यपालिका र न्यायपालिका प्रमुख हुनु न्यायको सर्वमान्य सिद्धान्त र शक्ति पृथकीकरणविपरीत भएकाले रेग्मी सरकारको प्रमुख बन्न नहुने भन्दै यसअघि उनका विरुद्ध रिट दायर भएको थियो ।

त्यस्तै, रेग्मी प्रधानन्यायाधीशको आचारसंहिता २०६५ र संविधानको धारा १०६ विपरीत मन्त्रिपरिषद् अध्यक्ष भएको पनि रिटमा उल्लेख छ ।

यसैगरी, बाधा अड्काउ फुकाउको विषय पनि संविधानको धारा विपरित भएको भन्दै उनका विरुद्ध रिट दायर भएका छन।

अधिवक्ता ओमप्रकाश अर्याल र भरतमणि जंगमले दायर गरेको मुद्दासँगै बाधा अड्काऊ फुकाउको विरोधमा परेका अन्य मुद्दाको समेत एक मुष्ट समावेश गरी असार २० गते पेश गर्न ६ गते आदेश दिएको थियो ।

रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगमले गत फागुन १५ मा राष्ट्रपतिसमेतलाई विपक्षी बनाई दायर गरेको मुद्दालाई यसअघि नै अग्राधिकारमा राख्ने निर्णय भइसकेको छ ।

अदालतले रेग्मीका विरुद्ध फैसला गरेमा रेग्मी नेतृत्वको मन्त्री परिषद हट्न बाध्य हुनुपर्नेछ भने उनकै पक्षमा फैसला भएको खण्डमा भने रेग्मी सरकार झनै बलियो हुनेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।