असार १९ । चार दिनसम्म पोखरामा बसेको नेकपा माओवादीले मंसिर ४ मा कुनै पनि हालतमा चुनाव नहुने निष्कर्ष निकालेको छ ।

निर्वाचन गराउनु पर्छ भन्ने दलहरु नै चुनाव हुन नदिने खेलमा लागेको र उनीहरुले गराउन चाहे पनि आफ्नो दलको विरोधका कारण कुनै पनि हालतमा चुनाव हुन नसक्ने माओवादीको भनाई छ ।

केन्द्रीय समितिले गरेका निर्णयहरुका बारेमा जानकारी दिन पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्य किरणले पूर्ण बैठकले पार्टीको सम्पूर्ण शक्ति लगाएर निर्वाचन विथोल्ने निर्णय गरेको जनाए ।

वर्तमान स्थितिमा हुन लागेको निर्वाचनको आफ्नो पार्टीले सक्रिय बहिस्कार गर्ने चेतावनी समेत उनले दिए ।

चैत्र १ गते चार दलले गरेको ११ बुँदे सहमति, अन्तरिम संविधानको २५ बुँदे संशोधन र त्यसका आधारमा बनेको वर्तमान मन्त्रिपरिषद् खारेजी लगायतका माग गर्दै माओवादी आन्दोलित हुँदै आएको छ ।

वैद्यले जनयुद्धको वास्तविक शक्ति आफ्नो पार्टी भएको भन्दै काँग्रेस र एमालेले नवसंसोधनवादी एकीकृत माओवादीलाई च्यापेर आफूहरुलाई पाखा लगाएको समेत जनाए ।

पार्टी एकीकरणका सवालमा वैद्यले भावना नै फरक भएकाले एमाओवादीसँग एकीकरणको कुनै सम्भावना नभएको समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।