विस्तारै अध्यक्ष प्रचण्डले पनि पद छाड्ने नीति हाम्रो छ : भट्टराई

असार १६ । एकीकृत नेकपा माओवादीको जारी केन्द्रिय समितिको बैठकमा उपाध्यक्ष पदबाट राजीनामा दिएका डा. बाबुराम भट्टराईले स्वैच्छिक रूपमा पद त्याग गरेको बताएका छन् ।

कान्तिपुर दैनिकमा छापिएको उनको अन्तरवार्तामा भट्राईले आफू ६० वर्ष पुगेकाले स्वैच्छिक रूपमा पद त्याग बताएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

भट्टराईले पुराना नेताले ठाउँ छाडेपछि नयाँले ठाउँ पाउने भन्दै विस्तारै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छाड्ने नीति रहेको बताएका छन् ।

हेर्नुहोस् कान्तिपुरमा भट्टराईको अन्तरवार्ता :
तपाईंले किन उपाध्यक्ष पद त्याग गर्नुभएको ?

हामीले नयाँ उत्तराधिकारी निर्माण गर्ने नयाँ संश्लेषण गरेका छौं । कम्युनिस्ट पार्टीमा आजीवन पद ओगट्नु ठीक होइन भनेर मैले पहिलेदेखि नै भन्दै आएको छु । म हालसालै ६० वर्ष पनि पुगें । त्यसकारण स्वैच्छिक रूपमा पद त्याग गरेको हुँ । पद त्यागे पनि निरन्तर पार्टी र क्रान्तिमा योगदान गर्ने छु । मैले पार्टीबाट राजीनामा गरेको होइन, पद मात्र त्यागेको हुँ ।

विवाद भएर पद त्याग गर्नुभएको होइन ?

मैले सकारात्मक ढंग (पोजेटिभ टोन) बाट पद त्याग गरेको हो । यसमा कुनै विवाद छैन । पार्टीको औपचारिक पदमा नरहेर पनि काम गर्न सकिन्छ भन्ने संस्कार बसाल्न खोजेको हुँ । त्यसैले लिखित रूपमै पद त्यागको जानकारी गराएको छु ।

एमाओवादीमा पदबारे चर्को विवाद भइरहेका बेला त्याग गर्दा असन्तुष्ट भएको पुष्टि हुँदैन ?

मैले नेतृत्वका बीचमा विवाद भएर पद छाडेको होइन । हामीले केन्द्रीय समितिमा सर्वसम्मत रूपमा सांगठनिक प्रस्ताव राखेका हौं । त्यसमा छलफल जारी छ । हामी पुराना नेताले ठाउँ छाडेपछि नयाँका लागि ठाउँ बन्छ । अहिले मैले छाडें, विस्तारै अध्यक्ष प्रचण्डले पनि छाड्ने नीति हाम्रो छ । मैले कसैप्रति लक्षित गरी पद छाडेको होइन ।