असार १५ । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जारी केन्द्रिय समिति बैठकमा पद त्यागको घोषणा गरेका छन् ।

पार्टी सुद्धिकरणको अभियान आफूबाट थाल्ने भन्दै भट्टराईले आज केन्द्रिय समिति बैठकमै उपाध्यक्ष पद त्यागको घोषणा गरेको जनाए ।

तर भट्टराईले यस्तो बताए पनि पार्टी भित्र पदको भागबण्डाका विषयमा चुलिएको विवादका कारण उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

यसअघि हिजो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बसेको केन्द्रिय समिति बैठकमा दुई उपाध्यक्ष, एक महासचिव ४ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने प्रस्ताव गरेका थिए । जसअन्तर्गत कोषाध्यक्षमा हिसिला यमीलाई प्रस्ताव गरिएको थियो ।

तर बैठकमा यमीलाई दुई स्टेप बढाएको भन्दै नेतृत्वको राजीनामा समेत माग गरेका थिए । प्रचण्डको उक्त प्रस्तावमा बाबुरामले मतदानबाटै पदको समस्या हल गर्नुपर्ने माग गरेकोमा प्रचण्डले वास्ता गरेका थिएनन् ।

प्रचण्डको प्रस्तावमा बाबुराम पक्षका यमी बाहेक अरु कोही पनि परेका थिएनन् । यसै विषयलाई लिएर पनि बाबुरामले पद त्यागको घोषणा गरेको स्रोतको दाबी छ ।

पदाधिकारी थपका बिषयमा एकिकृत माओवादीमा असन्तुष्टि चर्किदै जाँदा भट्टराईको पद त्यागको घोषणाले समस्या थप जटिल भएको छ । यसअघि एमालेबाट ल्याउँदा दिइएको बचन अनुरुपको पद नपाएको भन्दै रामचन्द्र झाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

यसैबीच, एमाओवादी भित्र पदको विषयमै विवाद चुलिएर गएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।