भैयाको नामबाट बढी परिचित छन् उनी । तर उनको नागरिकताको नाम भने जलाल अहमद हो । हेर्दा उनी केही पाको जस्तो देखिन्छन् । तर लामो समयदेखि उनी भगवान गौतम बुद्ध लुम्बिनी परिसरमा रिक्सा चलाउने पेसा अपनाउँदै आएका छन् ।

१ सय ६५ वटा रिक्साहरुको भिडमा उनलाई चिन्न भने सजिलो छ । रिक्साको अगाडी नेपालको झण्डा राखिएको छ । नेपालको झण्डा चाँही यहाँ किन राख्नु भएको त ? उनकै शब्दमा भन्ने हो भने भारत लगायत देशहरुबाट लुम्बिनी घुम्न आउनेलाई यो झण्डाले गौतम बुद्ध नेपालमै जन्मेको र लुम्बिनी नेपाल नै होस् भन्ने प्रष्ट होस् भन्नका लागि राखिएको रे ।

३६ वर्षदेखि लगातार रिक्सा चलाउँदै आएको बताउने उनी भारतले बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको भनेर प्रचार गरेकोमा आक्रोश पोख्छन् । आफ्नो देशका लागि भारतसँग लडाई लड्न समेत आफू तयार रहेको उनी बताउँछन् । हुँदै नभएको प्रचार गर्ने भारतसँग लड्न राज्यले सहयोग मात्रै गरे आफू देशका लागि लड्न तयार रहेको उनको भनाई छ ।

गौतम बुद्धको जन्मस्थल हेर्न तथा पर्यटनका लागि समेत आकर्षक भन्दै लुम्बिनीकाबारे बद्खाई गर्ने उनी लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग भने आक्रोशित रहेका छन् । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले भ्रष्टचार गरेकाले लुम्बिनीको विकास हुन नसकेको उनले बताए । आफूहरु भ्रष्टचारका विरुद्ध आन्दोलनमै उत्रिएको समेत बताउने उनले पैसामा प्रहरी प्रशासन समेत किनबेच हुने हुनाले आफ्ना आवाजहरुलाई वेवास्ता गर्दै आएको गुनासो पोखे ।

नागरिकता बनाउने क्रममा केही घडबढी भएको भन्दै आफ्नो उमेर ४४ वर्ष पुगेको उनी सम्झछन् । ३६ वर्षदेखि रिक्साको पछाडी मानिसलाई बोकेर पाइताला मार्ने उनले अफसिजनमा कहिले हजार, कहिले पाँच सय त कहिले कति पनि कमाई नहुने गरेको बताउँछन । तर सिजनमा भने कम्तिमा पनि १५ सय, २ हजार कमाई हुने गरेको उनी बताउँछन् ।

यति लामो समय रिक्सा चलाएर के के गर्नुभयो त भन्दा उनी अनुमानमा १०/१० लाखका दरले तीन जना भाईको बिहे गरेको, अनुमानित १५/१५ लाखमा एउटी बहिनी र एउटी छोरीको बिहे गरेको बताउँछन् । त्यति मात्रै होइन उनले तेनुइयाँ गाविसमा एउटा घर समेत बनाएको बताउँछन् । यो कसरी त भन्ने जिज्ञासामा भने उनले रिक्सा चलाएर पैसा कमाई भाईहरुलाई विदेश पठाएको र भाईहरुबाट पनि प्लस पइन्ट भएकोमा जोड दिए ।

‘पहिले चाँही घर परिवारमा म एक्लै थिए कमाउने उनले भने ८/१० वर्षदेखि तीन वटा भाईहरुले पनि रिक्सा चलाए । रिक्साबाटै कमाएर तीन वटै भाईलाई विदेश पठाईदिए । ‘ उनले अझ अगाडी थपे- ‘लुम्बिनीमा रिक्सा चलाएर थुप्रो प्रगति गरियो । घर बनाइयो । भाईहरुको बिहे गरियो । बहिनीको बिहे गरियो । एउटा आफ्नै छोरीको पनि बिहे गरियो ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।