असार १२ । भारतको उत्तरपूर्वी राज्य मेघालयमा आठ कोइला खानी मजदुरलाई कुटपिट गरी मारिएको तथा अन्य तीनको अवस्था चिन्ताजनक भएको जानकारी अधिकारीहरूले मङ्गलबार दिएका छन् ।
प्रहरी प्रवक्ताले स्थानीय आपराधिक व्यक्तिहरूले सोमबार बिहानै मेघालयको साउथ गारो हिल्स जिल्लाको नोङ्गालबिब्रामा उक्त आक्रमण गरेको देखिएको बताए ।
कोइला खानीमा अज्ञात आक्रमणकारीले तीन छुट्टा छुटै आक्रमण गरी आठ व्यक्तिको हत्या गरेको तथा तीनलाई घाइते बनाएको उक्त जिल्लाका प्रहरी प्रमुख डेभिस माराकले एएफपीलाई टेलिफोनमा बताए ।
यी मजदुरले केही दिन अगाडि पारिश्रमिक प्राप्त गरेको र आक्रमणकारीले उनीहरूको नगद पनि लुटेको माराकले जानकारी दिए ।
आक्रमणकारीले मजदुरलाई भाला तथा फलामको छडले हानेको देखिएको प्रहरी अधिकारीले बताए । एजेन्सी