असार १२ । भारतको उत्तरी भागमा अवस्थित उत्तराखण्ड राज्यका बाढी पीडितलाई उद्धार गर्न गएको हेलिकप्टर मङ्गलबार गौरीकुण्डनजिकै दुर्घटनाग्रस्त हुँदा आठ व्यक्तिको मृत्यु भएको जानकारी वायुसेनाले दिएको छ ।

हेलिकप्टरका चालकसहित पाँच यात्रुले घातक चोटपटक व्यहोरेको एएफपीले प्राप्त गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रसियामा बनेको एमआई–१७ नामक उक्त हेलिकप्टर उद्धार कार्यमा रहेको थियो । उक्त क्षेत्रमा बाढी तथा पहिरोका कारण एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यहाँबाट सेनाले करिब छ हजार तीर्थयात्री तथा पर्यटकलाई अन्यत्र लैजान प्रयास गरिरहेका छन् । यहाँका घर, भवन तथा गाउँनै पनि बाढीले बगाएको देखिएको छ ।

बाढी तथा पहिरोका कारण करिब एक हजार पुलका साथै निकै सडक क्षतिग्रस्त भएका छन् र यसका कारण गाउँ तथा नगरसम्मको पहुँचमा पनि समस्या पुगेको छ ।

उत्तराखण्डमा वायुसेवाका प्रवक्ता गेरार्ड गालवेले दुर्घटनाको कारणका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उद्धार प्रयासमा सेनाका करिब ६० हेलिकप्टर प्रयोग भएको बताइएको छ । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।