असार ११ । समाचारका विषयलाई लिएर पक्राउ परेका पाँच जना पत्रकारहरु सोमबार रिहा भएका छन् ।

पत्रकार सुशील पन्त, सन्तोष भट्टराई र पुस्कर कँडेलसहित पाँच जना पत्रकार रिहा भएको पत्रकार महासंघका महासचिव जगत नेपालले हेलोखबरलाई जानकारी दिए ।

कन्या क्याम्पसको शौचालयमा भान्टा फेला भन्ने विषयको समाचार नेपाली हेडलाइन्स नामक अनलाइनमा लेखेपछि प्रहरीले उक्त अनलाइनका अतिथि सम्पादक सुशील पन्त तथा सञ्चालक सन्तोष भट्टराईका साथै सोही समाचार कपी गरेर आफ्नो अर्कै अनलाइन राखेको बताउने पुस्कर कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै अन्य दुई जनाले अनलाइनमार्फत अरुको मानहानी हुने समाचार लेखेपछि पक्राउ परेका थिए । त्यसरी पक्राउ पर्नेहरुमा खबरमज्जामा विजय केसी र अजय पौडेल रहेको बुझिएको छ ।

समाचारबारे प्रेस काउन्सिलले छानबिन गर्ने तथा तथा नेपाली हेडलाईन्सले खण्डन छाप्ने सहमतिपछि कलेजले मुद्धा फिर्ता लिएको बताइएको छ ।

तर, महासंघका सचिव जगत नेपालले उनीहरुलाई आवश्यक पर्दा जतिबेला पनि उपस्थित हुने शर्तसहित छाडिएको पनि जानकारी दिए ।

पन्त र भट्टराईलाई आफ्नै रोहबरमा छाडिएको र अन्यलाई आफ्ना आफन्तको रोहबरमा छाडिएको उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।