असार ९ । क्याम्पसको शौचालयमा भाण्टा भेटिएको समाचार लेखेको विषयलाई लिएर पक्राउ परेका पत्रकारहरु आज छुट्ने भएका छन् ।

केही समयअघि नेपाली हेडलाइन नामक अनलाइनमा कन्या क्याम्पसको शौचालयमा भाण्टा भेटिएको समाचार लेखेसँगै कलेजले आफ्नो कलेजका प्रतिष्ठामा आँच आएको भन्दै प्रहरीमा मुद्धा हालेको थियो ।

त्यसपछि प्रहरीले उक्त अनलाइनका अतिथी सम्पादक सुशिल पन्त, सञ्चालक सन्तोष भट्टराई तथा अर्का एक अनलाइनका पत्रकार पुष्कर भट्टराईलाई पक्राउ गरेको थियो ।

तर, सममाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरी थुनामा राखेर प्रेस स्वतन्त्रताको हनन् गरिएको भन्दै चौतर्फी आलोचना बढे पछि प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र डिल्लीबजार कन्या क्याम्पसबीच आज उनीहरुलाई रिहा गर्ने र उनीहरुका विषयमा प्रेस काउन्सिल नेपालले छानविन गर्ने सहमति भएको हो ।

सहमति पत्रमा पक्राउ परेका पत्रकारहरुलाई पत्रकार आचार संहिता उल्लंघन गरेकोमा छानविन गरि प्रेस काउन्सिलले कारबाही गर्ने सहमति भएको बताइएको छ ।

प्रेस काउन्सिलले गरेको गरेको कारबाही चित्त नबुझेमा पीडित पक्षले जिल्ला अदालतमा मुद्धा हाल्न पाउने व्यवस्था छ ।

तर, समाचार लेखेकै भरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा कारबाही गर्नु भने प्रेस स्वतन्त्रता विरोधी मानिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।