समाचार टिप्पणी
असार ९ । आजका दैनिक पत्रपत्रिकाहरुमा नेपाली सेनाको हेलिकप्टर नपाएपछि शिर्ष नेताहरु बाढीग्रस्त क्षेत्रमा गएनन् भनेर छ्यापछ्याप्ती समाचार छापिएको छ ।
सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध नगराएका कारण प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बाढी प्रभावित दार्चुलाको स्थलगत अवलोकन भ्रमण गर्न नपाएको भन्ने खबरमा उल्लेख छ ।
राजनीतिक दलका नेता भनेको जनताको प्रतिनिधित्व गरेर आएका हुन् भन्ने बुझिन्छ । यस्तो अवस्थामा जनतालाई दुःख पर्दा, समस्या पर्दा त्यहाँ जान खोज्न ठिकै पनि हो । तर, जनताको करबाट उठेको रकममा जान खोज्नु भने राम्रो मानिदैन । सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराइएको भए नेताहरु हिजै त्यहाँ पुग्ने थिए । अनि आश्वासन पनि दिने थिए । सरकारले हेलिकप्टर उपलब्ध गराउनु भनेको हाम्रै करबाट चल्नु जस्तै हो । उनीहरु साँच्चै जाने नै थिए भने प्रतिघन्टा एकलाख रुपैया तिरेर पनि जान सक्थे । किनकी सेनाको भाडामा लिनका लागि प्रतिघन्टा एकलाख रुपैया तिर्नुपर्छ। र सेनाको हेलिकप्टर राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिबाहेक अरुले चढ्न पाउने व्यवस्था पनि छैन।
जे होस, जब तिनै नेताहरु सरकारको नेतृत्व गर्न त्यो ठाउँमा उनीहरु पुग्छन् । त्यतिबेला भने तराईमा वर्षेनी हुने डुबानका विषयमा केही बोल्दैनन् । यो विषय सरकारी तहबाट भारतसँग वार्ता तथा छलफल गर्ने हो भने पूरै त होइन तर धेरै कम हुने विज्ञहरुको भनाई छ ।
भारतले आफ्नो अनुकुल बाँध बाध्नु, आफू अनुकुल खोल्ने तथा बन्द गर्ने कामले वर्षेनी डुबान हुँदै आएको हो । यसमा सबै दलका नेताहरुले सरकारको नेतृत्व सम्हालीसकेका छन् । तर, यसको दिर्घकालिन समस्या समाधान गर्न कसैले पनि कदम चालेका छैनन् ।
त्यसैले त तराईमा वर्षेनी डुबान हुने गर्दछ । सयौँ जन र लाखौँ करोडौँको धनको क्षति हुँदै आएको छ ।, र यो वर्ष पनि त्यस्तै भयो ।
क्षति पछि भने नेताहरु त्यस ठाउँमा जाने इच्छा व्यक्त गरे । उनीहरु सेनाको हेलिकप्टर चढेर घुम्न तथा अवलोकनमा जानको सट्टा स्थानीय नेता कार्यकर्ता परिचालन तथा केन्द्रबाट नै राहत संकलन गर्न सक्ने थिए । उनीहरुले चाहेका भए ।
ठाउँमा पुग्दा चुँई नबोल्ने, समस्या समाधान तर्फ नलाग्ने, अनि अहिले पनि पीडितहरुका लागि राहत संकलन जस्ता सोझै प्रभावित हुने काम गर्न छाडेर सेनाको हेलिकप्टर पाइएन भनेर मुख खुम्च्याएर पनि काम भने छैन । बाढी पीडितका आँखा रसाएका छन् । मन रोएको छ ।
यस्तो बेला । नेताहरु हेलिकप्टरमा जानु भन्दा पनि राहत सामग्री पठाइदिए उनीहरुको मन थोरै भए पनि खुसी हुने थियो । भारतमा अलपत्र तथा बेपत्ता नेपालीहरुका लागि सक्दो पहल गरिदिने हो भने त्यसमा भने बढी जिम्मेवारीपन देखिने थियो ।