असार ७ । काठमाडौँस्थित भारतीय राजदूतावासले आज एक विज्ञप्ति जारी गरी भारतले धौलीगङ्गा बाँधको जलद्वाराहरु खोलेकाले नेपालको दार्चुला जिल्लामा बाढी आएको भन्ने समाचारप्रति असहमति जनाएको छ ।
‘यही असार २ गते जलाधार क्षेत्रमा परेको अत्याधिक वर्षाका कारण अन्तर्वाह अधिक मात्रामा परियोजना भएर बगेको थियो । तत्पश्चात बाँध र विद्युतगृह डुबान तथा अत्यधिकमात्रमा माटो जम्मा हुँदा विद्युत उत्पादन कार्य पूर्णरुपमा थुनिएको थियो । बाँधसम्म पुग्ने बाटोसमेत थिएन । यसमा भारतले बाँधको पानी खोल्ने भन्ने प्रश्न नै उठ्दैन । तसर्थ भारत र नेपालका तल्लो तटीय क्षेत्रमा मनसुनसँग सम्बन्धितबाढीमा धौलीगङ्गा बाँधको कुनै प्रभाव हुँदैन । जलाधार क्षेत्रमा अत्यधिक मनसुनका कारण भारतीय पक्षमा समेत जनधनको क्षति भएको छ ।’ –विज्ञिप्तमा भनिएको छ ।
विज्ञप्तिमा अन्य परियोजना जस्तै मनसुन ऋतुमापानी पक्की निकासमार्फत बहिरहने गर्छ भन्दै धौलीगङ्गा जलविद्युत परियोजना नदी प्रवाहमा आधारित सानो दैनिक जलभण्डारमार्फत पानीको सतहमा कुनै परिवर्तन नल्याई विद्युत उत्पादन गरिने परियोजना भएको जनाइएको छ ।
यस अतिरिक्त गत सोमबार अपराह्न ३ बजे शारदा नदीमा अहिलेसम्मकै उच्चतम बहाव ४.४१ लाख क्युसेक पानी मापन गरिएको थियो र यो भारतको उत्तरपश्चिम क्षेत्रमा गत आइतबारदेखि परेको अत्यधिक वर्षाका कारण भन्दै दूतावासले भारत सरकारका सम्बन्धित निकायहरुले नेपाल सरकारका निकायहरुसँग निकट रही उक्त अवस्थासँग सामना गर्न कार्य गरिरहेको पनि जनाएको छ ।








