असार ७ । नेपालभरका ७५ वटै जिल्ला अदालतबाट फैसला भए बमोजिम विविध प्रकृतिका मुद्दाका आरोपित कसुरदारबाट ९८ हजार ४८ वर्ष एक महिना १९ दिन कैद असुल (कैद भुक्तान) हुन बाँकी रहेको छ ।
आरोपित कसुरदारहरुबाट रु एक लाख १९ हजार ४३० वर्ष पाँच महिना २७ दिन कैद भुक्तान हुनुपर्नेमा गत वैशाख मसान्तसम्म २१ हजार ३८२ वर्ष चार महिना आठ दिन कैद भुक्तान भई ९८ हजार ४८ वर्ष एक महिना १९ दिन आरोपित व्यक्तिले कैद बस्नुपर्ने भएको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको हो ।
फैसलापछि कसुरदार फरार हुनु, तिनको सही ठेगाना फेला पार्न नसक्नु, झुटो नाम थर र ठेगाना पेस गर्नु, व्यक्ति पहिचान हुन नसक्नु, अनुसन्धान प्रक्रिया फितलो हुनुजस्ता कारण फैसला कार्यान्वयनमा कठिनाइ भएको हो ।
विसं २०६६ मा यो निर्देशनालयको स्थापना पछि नेपालभरका जिल्ला अदालतमा परेका मुद्दाको लगत यस निर्देशनालयल राख्ने गरिएको छ । फैसला बमोजिम कैद, दण्ड, जरिवाना र सरकारी बिगोसमेतको असुली केही मात्रामा बढेको त्यहाँका पदाधिकारी बताउँछन् । रासस




