काठमाडौं १२ माघ ।
आरजु राणा
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी आरजु राणा देउवालाई राष्ट्रियसभामा ल्याउने कसरत सुरु गरेका छन् ।
पत्नी आरजुसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक/एक नेतालाई राष्ट्रियसभामा मनोनयनको तयारीमा देउवा छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्ने तयारी गरेका हुन् । प्रमुख तीन दलकै सहभागिता रहने तथा गौतम र श्रेष्ठलाई मनोनित गर्दा खासै विरोध नहुने अवस्थालाई नजर गर्दै पत्नी आरजुलाई पनि मनोनित गर्ने देउवाले तयारी अघि बढाएका हुन् ।
संविधानमा राष्ट्रियसभा सदस्यमध्ये ५६ जना निर्वाचनबाट र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । प्रधानमन्त्रीले संविधानमा कम्तिमा एक महिला रहने गरी ३ जना सरकारले मनोनयनका लागि सिफारिस गर्ने र राष्ट्रपतिले मनोनित गर्ने प्रावधानलाई टेकेर पत्नीलाई पनि राष्ट्रियसभामा ल्याउने तयारी गरेका हुन् ।
प्रधानमन्त्री देउवाले यो प्रस्ताव वाम गठबन्धनका केही नेतासमक्ष अनौपचारिक रुपमा प्रस्ताव गरिसकेको स्रोतले बतायो । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाएको अवस्थामा बाहेक सरकारले सिफारिस गर्ने नाममा यीनै तीन जना पर्ने सम्भावना बढी रहेको बताइन्छ । तर सरकार भने अहिले मनोनयनको कुनै तयारी नरहेको बताउँछ ।
यता, देउवापत्नी आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन यसअघि नै कांग्रेस निकट महिलाहरुले दबाब दिँदै आएका थिए ।
आगामी २४ माघ हुने राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्ने विषयमा श्रेष्ठले अस्वीकार गरेका थिए भने एमालेले यसअघि पराजित बनेकालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउने नीति लिएपछि गौतम कार्यविधिमा परेका थिएनन् ।
आगामी २४ माघमा हुने निर्वाचनका लागि १० माघमा उम्मेदवारहरुकाे मनोनयन दर्ता भईसकेको छ । ५६ पदका लागि ९ दलका ८३ जनाले उम्मेदवारी दिएका छन् भने १७ जना निर्विरोध बनेका थिए । निर्विरोध उम्मेदवारको प्रक्रियापछि विजयी घोषणा गरिने आयोगले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।