असार १ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आजदेखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

पोलिथिन झोलाले वातावरण प्रदूषण तथा ढल जाम गर्ने भएकाले त्यसको उत्पादनलाई निरुत्साहित गर्न महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो ।

महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले व्यवसायी तथा उद्योगीले ३५ माइक्रोनभन्दा बढीका पोलिथिन झोला उत्पादनमा चासो नदेखाएको र त्यसभन्दा मुनिका पोलिथिन प्रयोगका लागि उपयुक्त नरहेकाले प्रतिबन्ध लगाइएको जानकारी दिए ।

आजदेखि १४ गतेसम्म महानगरभित्रका ३५ वडाका प्रत्येक टोलटोलमा यस अभियानबारे प्रचारप्रसार गरिने छ । पोलिथिन झोला बेच्नेलाई रु एक हजार र किन्नेलाई ५०० जरिवाना गरिने भएको हो ।

स्वास्थ्यकर्मीले पोलिथिनका झोलामा आर्सेनिक रसायन प्रयोग हुने र त्यसले क्यान्सर, छालालगायतका रोग निम्त्याउने भएकाले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका थिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।