जेठ ३१ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सिरहा जिल्ला सदस्य शिवराम यादवमाथि आज अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् ।

गोली लागेर मझौलिया गाविस–३ घर भएका नेता यादव घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल सिरहा सदरमुकाम ल्याइएको सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए । मिर्चैया बजारबाट आज दिउँसो करिब ३ बजे घर जाँदै गर्दा राघोपुर–९ मा नेता यादवमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका नेता यादवले मोटरसाइकलमा आएका दुई युवकले आफूमाथि गोली प्रहार गरेर भागेको प्रहरीलाई बयान दिएका छन् । गोली प्रहार गर्नेहरुको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार नेता यादवको दाहिने खुट्टामा गोली लागेको छ । राप्रपा नेपालका पूर्व गाविस उपाध्यक्ष रहेका यादव पछिल्लो समय फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।