उसले प्रचण्डबाबुराम गुट भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भईसकेको ठहरसहित पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।
पार्टी अध्यक्ष मोहन वैद्य किरणले आज एक विज्ञप्ति जारी गर्दै दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न नसक्ने समेत बताएका छन् ।
पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोल कल्पित तथा भ्रामक प्रचारबाजी हुँदै आएको भन्दै नेकपा माओवादीले त्यसमा आफ्नो पार्टीका ध्यानकर्षण भएको समेत जनाएको छ ।
अध्यक्ष किरणद्धारा जारी प्रेस विज्ञप्ति जस्ताकोतस्तै हेर्नुहोस्:
प्रेस वक्तव्य
हालै कतिपय सञ्चार माध्यमद्वारा नेकपा-माओवादी र एनेकपा(माओवादी)का बीच पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोल कल्पित तथा भ्रामक प्रचारबाजी हुँदै आएकोमा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणका क्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै छ ।
यहाँसम्म कि प्रचण्ड-बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन । उक्त गुटसँग पार्टी एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको कुराबारे हामी र्सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छौं ।
मोहन वैद्य ‘किरण’
अध्यक्ष