जेठ २७ । भारतीय जनता पार्टीका नेता एवम् भारतीय संसदमा प्रमुख विपक्षी नेता लालकृष्ण आडवानीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
सो दलको समाचार स्रोतका अनुसार हिजोमात्र भारतीय जनता पार्टीले आगामी वर्ष हुन लागेको भारतको आम निर्वाचनको प्रमुख अभियानकर्ताका रुपमा पार्टीले नरेन्द्र मोदीलाई अघि सारेपछि उनले राजिनामा दिएका हुन् ।
मोदी हिन्दू धर्मप्रति कट्टर नेताका रुपमा चिनिन्छन् । उनी भारतीय जनता पार्टीका एक चर्चित र विवादास्पद नेताका रुपमा परिचित छन् ।
पचासी वर्षीय आडवानीलाई भारतीय जनता पार्टीले सन् २००९ को आम निर्वाचनमा प्रधानमन्त्रीको उमेदवारका रुपमा अघि सारेको थियो ।
तर सो निर्वाचमा उक्त दलले बहुमत हासिल गर्न भने सकेन । उनी भारतका एकजना वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ । उनी भारतको उपप्रधानमन्त्री भइसकेका छन् ।
भारतका कतिपय नेताहरु आफ्नै व्यक्तिगत एजेण्डामा नै अडिग रहने गरेको बताइन्छ । यस पटक पनि आडवानीले मोदीसँगकै असहमतिका कारण राजिनामा दिनुभएको बताइएको छ ।
भारतमा आगामी वर्ष हुन लागेको आम निर्वाचनका लागि दलगत रुपमा अभियानहरु सुरु भइसकेका छन् । एजेन्सी