जेठ २४ । धारिलो हतियार प्रयोग गरि हत्या गरिएका पूर्व सभासद सदरुल मियाँ हकको हत्या आफ्नै श्रीमती, छोरी र छोरीकी ब्वाईफ्रेन्ड मिलेर गरेको रहस्य प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी, जिल्ला प्रहरी कार्यालय सप्तरी र पूर्व क्षेत्रीय कार्यालय विराटनगरले शुक्रवार पत्रकार सम्मेलन गरेर उक्त रहस्य खुलासा गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले मियाँको हत्याको मुख्य योजनाकार छोरी रुवेदा खान र श्रीमती नुरजहाँ खातुन रहेको बताएको छ ।

घट्नामा सलग्न सिरहाका अब्दूल रउफलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको छ भने मियाँकी श्रीमती ५० वर्षकी नुर जहाँ खातुन र छोरी १९ वर्षकी रुवेदा खातुनलाई पनि पक्राउ गरिसकेको छ ।

तर हत्यामा प्रत्यक्ष सलग्न रहेका अर्का सालेप गाविस निवासी ३७ वर्षका मोहम्मद जमिरुल शेख तथा सोही ठाउँका ३२ वर्षका ऐनुल शेख भने फरार भएका छन । फरार भएका दुवै जना पेशेवर अपराधी रहेको प्रहरीको भनाई छ ।

प्रहरीले पत्रकार सम्मेलनमा शेख र हककी छोरी रुबेदाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहदै आएको र ब्यापार ब्यवसायमा संलग्न हक र पत्नी नुरजहाँबीच आर्थिक विषयमा पनि विवाद रहदै आएको बताएको छ ।

सदरुलले कमाएको पैसा नुर जहाँले मनपरी ढंगले खर्च गर्ने तथा छोरीको प्रेम सम्बन्धमा पनि कडा प्रतिवाद जनाउँदै आएपछि आक्रोशित बनेका छोरी, पत्नी र छोरीका प्रेमीले हकको हत्या गर्ने योजना बनाएको प्रतिवेदनमा उल्लेख छ ।

घटनाको अनुसन्धानको क्रममा केन्द्रिय अनुसन्धान ब्युरो, पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिशेष टोली तथा जिल्ला प्रहरी कार्यालय सप्‍तरीबाट संयुक्त रुपमा टोलिले फेला पारेको घटनाको विवरण जस्ताको तस्तै ।
–   अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख  मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी  रुबेदा खातुनसँग सम्पर्कमा रहेको ।
–   मोहम्मद जमिरुल शेखसँग रुबेदा खातुनले घर परिवारको जानकारीबिना २०६९ फाल्गुण महिनामा रौतहटमा गइ निकाह गरेको ।
–   मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसँग बिवाह गर्ने कुरा गर्नुको साथै निज छोरीलाई गाली गर्ने गरेको ।
–   मृतकको श्रीमती नुरजहांसँग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
–   करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख  मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।
–   हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
–   करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
–   मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
–   हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
–   हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
–   मिति २०६९/०२/०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
–   योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
–   पुन भोलिपल्ट मिति २०७०/०२/०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१.१० बजे जानकारि दिएपश्चात निजहरु २१.३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
–   रातको अन्दाजि २२.३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००.३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
–   हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१.४५ बजे लहान तर्फ फर्केको
–   अनुसन्धान पश्चात मिति २०७०/०२/२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको Nokia c2 00 mobile बरामद गरिएको ।
–   मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
–   मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको ।
(सेतोपाटी डटकम, उज्यालोअनलाइन डटकमको सहयोगमा)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।