केपी खनाल
पूर्व निर्धारित समय अनुसार भईदिएको भए आजैका दिन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने थियो । तर विद्यार्थी संगठनहरुबीचको विवादले स्थगित हुन पुग्यो । स्थगित मात्रै होइन अनिश्चित जस्तै पनि बन्न पुगेको छ । विशेषतः भर्नाका विषयमा विद्यार्थी संगठनहरुविच विवाद भएपछि निर्वाचन स्थगितसँगै अनिश्चित बन्न पुगेको हो । तर अहिलेको अवस्थाको स्वतन्त्र विद्यार्थी युनियन कै कति औचित्य छ भन्ने कुरा तर्फ पनि बहस हुनु जरुरी भएको छ ।
राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाइएको समयमा तिनै दलका एजेण्डा जनतामाझ ल्याउनका लागि विद्यार्थी हतियार बनाइएका थिए । यसको बैधानिक निकायको आवश्यकता सम्झेर नै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको लागि संघर्ष भयो र संघर्षले सफलता पायो । तर अहिले परिस्थिति धेरै नै फेरीएको छ । त्रिभूवत विश्वविद्यालयले भने त्यही पुरानैलाई निरन्तरता दिइरहेको छ ।
विश्वविद्यालयले क्याम्पसहरुमा प्रत्येक दुइ बर्षमा गर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ साल चैत्रपछि आज २०७० साल जेठ २३ मा गर्न लागेको थियो । यो पनि भएन । यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने गरेको निर्वाचन मिश्रित प्रणालीमा गर्ने तय गरिएको थियो । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा सदस्यको आधा संख्या प्रत्यक्ष निर्वाचित हुने र उपाध्यक्ष, सहसचिव र आधा सदस्यको संख्या समानुपातिक रहने प्रावधान राखिएको छ । यसअघिको नियमावलीमा त्रुटी भएपनि त्यसलाइ सच्याउन भन्दै ल्याइएको नयाँ नियमावली (प्रणाली) पछि पनि हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि किन पुरानै प्रबृति दोहोरिए भन्ने बारे बहस गर्नु जरुरी छ । के पूर्ण समानुपातिक निर्वाचन प्रणाली गरिएमा यस्ता विकृतिहरु अन्त्य हुन सक्छन् ? असम्भव कसरी छ भने प्रत्यक्ष, मिश्रीत वा समानुपातिक जस्तो निर्वाचन भएपनि संगठनले जे जसरी हुन्छ, आफैले जित्न चाहान्छन्, जसले अहिलेको विकृति कायम नै रहनेछ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्नका लागि मुख्यतः तिनवटा तरिका अपनाइएको हुन्छ । पहिलो केवल मत कै प्रयोजनका लागि मात्रै लाखौं खर्च गरी भर्ना गर्ने, दोस्रो आफ्नो दल निकटका क्याम्पस प्रमुख सँगको सहकार्यमा अनुपस्थित विद्यार्थीको तथ्याङ्क संकलन गरी उनिहरुको नाममा अबैध विद्यार्थीले मत हाल्ने (उधारो भर्नालाई पनि यसमै राख्न सकिन्छ) र तेस्रो गुण्डागर्दी परिचालन गरी अर्को पक्षलाई उम्मेद्वारी नदिन बाध्य पार्ने तथा उम्मेदवारी दिइहाले पनि झडपको अवस्था सिर्जना गरी अर्को पक्षलाई मत नहाल्न बाध्य पार्ने । अहिलेसम्मको अवस्थामा यिनै तीनवटा पक्ष नै निर्वाचन जित्ने हतियार बनेका छन् भन्ने पुष्टी गर्न अघिल्ला निर्वाचनहरु काफी छन् ।
विद्यार्थी नेताहरुले स्वीकार गरेपनि अस्वीकार गरेपनि राजधानी सहित देशका प्रमुख क्याम्पसहरुमा यही कारण नै निर्वाचन परिणाम गएको देखिन्छ । अहिले गर्ने भनिएको निर्वाचन, मंसिरमा हुने भनिएको संविधानसभाको निर्वाचनको संघारमा हुन लागेको छ । मंसिरमा नै निर्वाचन नभएपनि संविधानसभाको निर्वाचन हुने सम्भावना देखेका दलहरुले मिनि जनमत मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रभावशाली नेताहरु (जो आर्थिक रुपमा पनि बलिया मानिन्छन्) लाई नै जिम्मा दिएका थिए । परिणामतः निर्वाचन जित्नका लागि पहिलो हतियार एक मुष्ट भर्नामा उनीहरुले जोड दिए । संगठनको माहौल मध्यम रहेको ठाउँमा उनीहरुले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जुटेका देखिन्थे । यसमा दलहरुले स्वीकार गर्न अनकनाएपनि एकिकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले अगाडी देखिन्छन् । थोरै र धेरैमा अन्तर परेकाले सार्बजनिक भयो र विवाद चर्किएपछि निर्वाचन नै स्थगित हुन पुग्यो यस अवस्थाबाट निर्वाचन नै भएको भए पनि विद्यार्थीको वास्तविक मत कसरी आउन सक्थ्यो ? र त्यो परिणामलाइ कसरी देशकै मिनि जनमत मान्न सकिन्छ ?
के गर्छ स्ववियुले ?
निर्वाचन जे जसरी जिते पनि स्वतन्त्र विद्यार्थी युनियन सबै विद्यार्थीको साझा संगठन मान्ने गरिएको छ । उसलाई विद्यार्थीसँग सम्बन्धी केही रचनात्मक कामहरु गर्ने अधिकार दिइएको हुन्छ । निर्वाचनपछि उसले यस्ता कामहरु कति अघि बढाएको छ भन्ने तिर ध्यान दिनु जरुरी भएको छ । विद्यार्थी संगठनहरुले निर्वाचन जिते पछि त्यसलाई क्याम्पसको सत्ताको रुपमा बुझेका छन् । क्याम्पसमा विद्यार्थीले नपाएका सेवा सुविधा निर्वाचनमा पराजय भोगेको संगठनले उठाउने गरेका छन्, किनकी ति मुद्धाहरु अर्को निर्वाचनमा उठाएर उसलाई पराजित गर्न सकियोस् । स्वतन्त्र विद्यार्थी युनियन भने क्याम्पसमा हुने ठेक्का पट्टामा सहभागी हुन्छ । क्याम्पसको कुन शीर्षकको बजेट कुन नाममा प्रयोग गर्न सकिन्छ र अर्को निर्वाचनलाई सहज हुने क्याम्पसको प्रशाशनिक वातावरण बनाउनमा नै उ क्रियाशिल रहन्छ । क्याम्पसको बजेटमा निर्माण भएका भौतिक संरचना आफ्नो कारणले भएको दावी गर्छ । यस्तै, राजधानीको एक क्याम्पसका स्ववियु पदाधीकारी अनैतिक कामका क्रियाशिल रहेको अवस्थामा प्रहरीले रङ्गे हात पक्राउ परेको विर्सन सकिदैन । क्याम्पसमा भौतिक संरचनाको अभाव छ, सेक्सनको अभावमा विद्यार्थीहरुले कक्षाकोठामा उभिएर पढ्नुपर्ने बाध्यता छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एउटा संगठनले २० औं लाख खर्च गर्न सक्छ भने त्यो लगानी क्याम्पसको भौतिक संरचनामा लगाउन सकिदैन र ?
विकल्प
विद्यार्थी संगठनहरु नितान्त राजनीतिक दलसँग आवद्ध छन् र उनीहरुको बाटोमा नै छन् । बौद्धिक भनिने विद्यार्थी नेताहरु समेत सहि र गलत छुट्टयाउन असफल देखिन्छन् । विश्वविद्यालयले १० महिनासम्म नतिजा प्रकाशन नगर्दा चुप लाग्ने विद्यार्थी संगठनहरु पेट्रोलियम पदार्थको मुल्य एक रुपैयाँ बढ्यो भने विरोध गर्छन् । उनीहरुको विरोधले जनताको वास्तविक पिरमर्कासँग कसरी सरोकार राख्दैन भने उनीहरुको विरोध अर्को पार्टीको सरकार रहँदा मात्रै सिमित हुन्छ । विद्यार्थी नेताहरुको जीवन शैली कुनै ब्यापारिक घरानाको ब्यक्तिको भन्दा कम छैन । यसो हुनुमा स्वतन्त्र विद्यार्थी युनियनको पनि भूमीका जोडिएको हुन्छ । सामान्य घाउ भएको हातलाई उपचार गरेर निको पार्न सकिन्छ तर निको नहुने रोग लागेको हातलाई काटेर नै फाल्नुको विकल्प रहँदैन । क्याम्पसमा स्वस्थ शैक्षिक वातावरण बनाउनका लागि होइन, विकृति विसंगतिको केन्द्र बनाउनका लागि प्रयोग भएको स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थी आन्दोलनलाई नै नकारात्मक असर पु¥याइरहेको छ । जसले विद्यार्थी राजनीति वितृष्णाको विषय मात्रै होइन, घृणाको विषय समेत बन्न पुगेको छ । अनि यसको असरले समग्र राजनीति नै खराब हो भन्ने धारणाको विकासमा सहयोग पु¥याइरहेको छ । यस अवस्थामा स्वतन्त्र विद्यार्थी युनियन सबै क्याम्पसबाट खारेज गर्नु नै उचित हुन्छ । यसको विकल्पमा विद्यार्थी संगठनहरु क्याम्पसमा क्रियाशिल रहन सक्दछन् । आफ्ना गतिविधीहरु सञ्चालन गर्न सक्दछन् । स्वतन्त्र विद्यार्थी युनियनले गर्ने गतिविधीलाई क्याम्पसलै नै एउटा अङ्ग बनाई सञ्चालन गर्न सक्दछ । यसबाट मात्रै सत्ताको राजनीति होइन, राम्रो कामका लागि संघर्षको राजनीति विद्यार्थी संगठनले गर्न सक्दछन् । – [email protected]
Comments