जेठ २१ । विभिन्न भाषामा सूचनामूलक सामग्री इन्टरनेटमार्फत उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ ।

विकिपिडियाको ११ औँ वार्षिकोत्सवका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहितको फोटो प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो । आगामी सेप्टेम्बर महिनाभर प्रकाशित हुने फोटोहरूको प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले वार्षिकोत्सवको केक काटेर उद्घाटन गर्दै बहुभाषा रहेको नेपालमा विकिपिडियाले विविध भाषाका सामग्री पस्कन सकेकामा खुसी व्यक्त गरे ।

उनले नेपाली लेखक र साहित्यकारहरूले सूचना र प्रविधिको उपयोग गरेर नेपालका विविध भाषालाई विश्वव्यापी चासोको विषय बनाउन आग्रह गरे ।

प्राज्ञ सुलोचना मानन्धरले विकिपिडियाले विविध भाषाका सामग्री दिएर भाषा साहित्यको विकासमा योगदान पु¥याएको धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न व्यक्तिले विकिपिडियामा विभिन्न भाषाका लेखको सम्पादन गर्नुका साथै नयाँ लेखसमेत राख्ने अभ्यासमा सहभागी भएका थिए ।

सबैले सम्पादन गर्न सक्ने अनलाइन विश्वकोष विकिपिडिया नेपालमा २०५९ मा सुरु भएको विकिपिडिया नेपालका अध्यक्ष गणेश पौडेलले बताए ।

अङ्ग्रेजी विकिपिडिया सुरु भएको एक वर्षपछि नेपाली विकिपिडियाले काम थालेको हो । यो दक्षिण एसियाको जेठो विकिपिडिया पनि हो ।

विकिपिडिया नेपालले नेपालमा बोलिने सबै भाषामा क्रमशः विकिपिडिया पेजहरू बनाउँदै लाने योजना बनाएको पनि अध्यक्ष पौडेलले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।