फणीन्द्र फुयाँल
जेठ २१ । प्रत्येक दुई वर्षमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पछिल्लो ११ औं संस्करण बङ्गलादेशको ढाकामा सम्पन्न भएको तीन वर्ष भइसक्दा पनि १२ औं संस्करण कहिले र कहाँ हुने भन्ने विषयको अहिलेसम्म टुङ्गो लाग्न नसक्दा खेलाडी एवम् खेलप्रेमीहरु निकै चिन्तित बनेका छन् ।

साग प्रतियोगिताबाटै आफ्नो खेलजीवनको यात्रा चम्किलो बनाएकी तेक्वान्दो खेलाडी अप्सरा कार्कीले १२ औं साग अनिश्चित भएकामा चिन्ता व्यक्त गर्दै भनिन् “उपाधि हात पर्नेमा विश्वस्त छु, तर प्रतियोगिता हुने हो कि होइन भन्ने चिन्ताका कारण हिजोआज खेल अभ्यास गर्न पनि मन लागेको छैन ।”

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका लागि ‘मिसन साग’ कार्यक्रम सञ्चालन गरेपनि साग यही वर्ष हुनेमा आपूmलाई विश्वास नलागेको नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठ बताए । उनले भने, ‘खेलकुदमा हुने राजनीतिले गर्दा प्रत्येक दुई वर्षमा आयोजना हुने साग प्रतियोगिता विगतदेखि नै पर सर्दै गएको इतिहास छ, सागका सदस्य राष्ट्रले प्रतियोगिता आयोजनाका लागि चासो नदेखाएका कारणले पनि निर्धारित प्रतियोगिता हुन नसकेको हो ।”

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिना भने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का आठ राष्ट्र नेपाल, बङ्गलादेश, भुटान, भारत, माल्दीभ्स, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानको सहभागितामा हुने साग प्रतियोगिता निर्धारित समयमा हुननसक्नुको प्रमुख कारण ओलम्पिक विवाद नै हो भन्छन् । उनका अनुसार गत सालको असोजमा भारतको नयाँ दिल्लीमा साग खेल आयोजनाको मिति तय गरिएको थियो । तर भातीय ओलम्पिक कमिटीको निर्वाचनमा सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतीय ओलम्पिक कमिटीलाई निलम्बन गरेपछि साग खेल रोकिन पुगेको हो ।

भारतीय खेलकुद राजनीति तत्काल समाधान नहुने देखिएपछि दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले नेपालमा साग आयोजना गर्न प्रस्ताव गरेको भएता पनि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीच तीव्र विवाद रहेका कारण साग खेल हुननसकेको नेपाल बुद्धिचाल सङ्घका सचिव हेराकाजी महर्जन बताउँछन् ।

नेपालमा सर्वोच्च अदालतद्वारा मान्यताप्राप्त राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशम्शेर राणा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानबीच लामो समयदेखि अस्तित्वको लडाईं जारी छ । सर्वोच्च अदालतले रुक्मशम्शेर नेतृत्वको ओलम्पिक कमिटी आधिकारिक भएको फैसला गरेता पनि सो कार्यान्वयन हुननसक्दा नेपाल ओलम्पिक कमिटीको विवाद झन् चुलिँदै गएको छ ।

नेपाल ओलम्पिक कमिटीको सिफारिसमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने प्रावधान छ ।

सन् २००६ मा श्रीलङ्काको राजधानी कोलम्बोमा भएको १०औं सागमा एथलेटिक्समा रजत पदकप्राप्त गरेकी र हाल खेलजीवनको उत्तराद्र्धमा पुगेकी कान्छीमायाँ कोजु भछिन्न् “१२ औँ साग शीघ्र आयोजना भएमा आफूले म्याराथनमा भाग लिई राष्ट्रका लागि स्वर्णपदक जित्न सक्ने थिएँ, हेरौँ म कत्तिको भाग्यमानी हुनेछु ।”

साफ प्रतियोगितामा लगातार तेक्वान्दो खेलमा चार स्वर्णपदक विजेता दीपक विष्ट खेलाडीको खेल्ने र विनारोकतोक लगातार प्रतियोगितामा सहभागी हुन पाउने अधिकारलाई कुनै पनि बहानामा रोक्ननहुने बताउँछन् । उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समयमै आयोजना गर्न, गराउन सम्बद्ध निकायसँग आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रधान सरकारले चाहेमा नेपालमा साग प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नसक्ने बताउछन् । सरकारले इच्छा देखाएमा ओलम्पिक विवाद पनि सुल्झिने उनको भनाइ छ ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको साग प्रतियोगिता दोस्रो पटक सन् १९८५ मा बङ्गलादेशमा भएको थियो । सागको तेस्रो संस्करण भारतमा सन् १९८७ मा भयो भने त्यसको दुई वर्षपछि चौथो संस्करण सन् १९८९ मा पाकिस्तानमा भएको थियो । यस्तै सागको पाँचौं संस्करण सन् १९९१ मा श्रीलङ्कामा र ठिक दुई वर्षपछि सन् १९९३ मा छैटौं साग प्रतियोगिता बङ्गलादेशमा सम्पन्न भएको थियो । सातौं साग सन् १९९५ मा भारतले आयोजना ग¥यो भने नेपालले चार वर्षपछि सन् १९९९ मा आठौं साग आयोजना गरेको थियो ।

सन् २००४ को नवौँ साग संस्करण पाकिस्तान र सन् २००६ को १०औं साग श्रीलङ्कामा भयो भने सागको पछिल्लो ११औं कार्यक्रम सन् २०११ मा बङ्गलादेशमा सम्पन्न भएको सागको हालसम्मको इतिहास छ ।

आगामी वर्ष सन् २०१४ मा एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना हुने भएकाले यस वर्ष साग आयोजना नभए सन् २०१५ सम्मका लागि साग धकेलिन सक्ने खेलकुदविज्ञहरु अनुमान लगाउँछन् ।

सो प्रतियोगिता समयमै आयोजना हुननसक्दा नेपालको मात्र नभई सार्क सदस्य राष्ट्रका खेलाडी आ–आफ्नो खेल प्रदर्शन र राष्ट्रको प्रतिनिधित्व गर्न पाउने अवसरबाट वञ्चित हुन बाध्य भएको न्यु डायमण्ड भलिबल क्लबका प्रशिक्षक कुमार राई बताउछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।