मोहन गुरुङ
काठमाडौं, २० जेठ- नेपाली कामदारलाई विदेशमा अलपत्र पार्ने, बढी रकम असुल्ने, बिनाइजाजत शाखा कार्यालय खोल्ने र नक्कली श्रम स्वीकृतिमा कामदार पठाउने म्यानपावर एजेन्सीलाई वैदेशिक रोजगार विभागले ५० हजारदेखि २ लाख रुपैयाँसम्म कारबाही गरेको छ ।

कामदारले दायर गरेका ठगी उजुरीका आधारमा म्यानपावरमाथि छानबिनपछि जरिवाना गरिएको हो । नक्कली विज्ञापन गर्ने, सम्झौताबमोजिम फरक काममा पठाउने, तोकिएको भन्दा ५–६ गुणासम्म रकम असुल्ने, निर्धारित सेवा–सुविधा नदिने म्यानपावरलाई रकम फिर्ता गर्न लगाएरै जरिवाना गरिएको विभागले बताएको छ । विभागले कारबाही गरेको भोलिपल्टै म्यानपावरहरू १ लाख रुपैयाँ जरिवाना शुल्क बुझाएर उम्कने गरेका छन् ।

कारबाहीमा परेकामध्ये जुपिटर ओभरसिज र दि रिभर ओभरसिज दोस्रोपटक जरिवानामा परेका छन् । जुपिटरले तोकिएको ढाँचाभन्दा फरक विज्ञापन प्रकाशित गरेको र बिनाइजाजात शाखा कार्यालय सञ्चालन गरेको भन्दै क्रमशः ५० हजार र २ लाख रुपैयाँ जरिवाना भोगेका छन् । यसका शाखा कार्यालय बन्द गरिएका छन् । दि रिभरलाई बिनाअनुमति शाखा कार्यालय सञ्चालन र तोकिएको ढाँचाभन्दा फरक विज्ञापन गरेकाले पहिलोपटक २ लाख र दोस्रोपटक ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यी दुई बढी कामदार पठाउने १० म्यानपावरभित्र पर्छन् ।
कनेक्सन ओभरसिजले खाडी मुलुक जाने कामदारसँग ४/५ लाख रुपैयाँ, साम इन्टरनेसनलले ३ लाख ७५ हजार, रिलायबल एचआरले २ लाख ८५ हजार, थ्री ब्रदर्स ह्युमन रिसोर्सले ३ लाख ५० हजार, ग्रोथ प्रोसेसले ५ लाख ६१ हजार, आईएस वारिसन ओभरसिजले ४ लाख रुपैयाँ असुल गरेका थिए । ती एजेन्सीबाट रकम असुलेर कामदारलाई फिर्ता गर्नुका साथै सबैलाई १ लाखका दरले जरिवाना गरिएको छ ।
“पीडित कामदारको उजुरीका आधारमा एजेन्सीमाथि छानबिन गर्छाै,” विभागका निर्देशक दिवस आचार्यले भने, “उजुरी सत्य ठहरिए ठगी गरेको रकम कामदारलाई फिर्ता गर्न लगाएर जरिवाना गर्छा । यी ४६ एजेन्सी सबै दोषी देखिएका छन् ।”
विभागले गत आर्थिक वर्ष जेठमा १४ वटा एजेन्सीलाई मात्र कारबाही गरेको थियो । त्यसअघि म्यानपावरले जति रकम ठग्थे, त्यत्ति नै रकम कामदारलाई फिर्ता गर्नुपथ्र्यो ।

उजुरी पर्नेबितिकै एजेन्सी र कामदारबीच सम्झौता भए जरिवाना नहुने निर्देशक आचार्यले बताए । विभागमा वैशाखभर १ सय १८ एजेन्सीविरुद्ध ठगी उजुरी परेको जानकारी उनले दिए ।

कारवाहीमा परेका एजेन्सी र जरिवाना रकम
स्वीफ्ट गोरखा इन्टरनेसनल, एनसीएफ इम्लोयमेन्ट सर्भिसेज, कनेक्सन ओभरसिज, गल्फ इम्प्लोयमेन्ट, भिक्टोरी कस्मिक ओभरसिज, एमविके ओभरसिज, साम इन्टरनेसनल, रिलायवल एचआर सोलुसन, मार्बलस इम्प्लोयमेन्ट, अलदाहविया ओभरसिज, अलकुरेश इन्टरनेसनल, थ्री ब्रदर्स ह्युमन रिसोर्स, दि रिभर ओभरसिज, एसिया लिंक सर्भिसेज, रेडियन्ट ओभरसिज, एभरेस्ट इन्टरनेसनल, भेरी वेस्ट ओभरसिज, जव्स लिंक इन्टरनेसनल, मोन्टेज ओभरसिज, भेरी एन्ड कर्णाली इन्टरनेसनल, मोभिरा एचआर, न्यु ब्लुस्टार ओभरसिज, युथ मेनपावर, नेपाल गेटवे, जुपिटर ओभरसिज, उपहार ह्युमन रिसोर्स, ओशो रिक्रुटिङ एजेन्सी, वेभ ओभरसिज, क्यापिटल रिक्रुमेन्ट, ग्रोथ प्रोसेस, आइएस वारिसन ओभरसिज, सारथि ओभरसिज इम्प्लोयमेन्ट, मेरिडियन एसोसिएसन, फजल इन्टरनेसनल, अञ्जली ओभरसिज, दि रिभर ओभरसिज, अलसोयालात नेपाल, जुपिटर ओभरसिज कन्सर्न, जब सेन्टर, नबिल ओभरसिज, भिजन एन्ड भ्यालु ओभरसिज, रेम्बो ओभरसिज, प्यासिफिक ह्युमन रिसोर्स, भिक्टोरी नेपाल, एक्टिभ ओभरसिज, इन्रटनेसनल स्टाफिङ (कारोबार दैनिकबाट)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।