जेठ १९ । सर्वोच्च अदालतका न्यायाधिश रण बहादुर बमका हत्या भएको आज १ वर्ष १ दिन पूरा भएको छ । तर हत्याराबारे पहिचान खुल्ने गरी नै मिडियामा आए पनि अनुसन्धान टोली तथा प्रहरीले भने उक्त सार्वजनिक दबाबका कारण सार्वजनिक नगरी लुकाएको लुकाएै पारेको छ ।
यसअघि विभिन्न सञ्चारमाध्यममा बमको हत्यामा तत्कालिन डा. बाबुराम भट्टराई नेतृत्व सरकारका गृहमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको संलग्नता भएको प्रमाणहरु फेला परेको समाचारहरु बाहिर आएका थिए ।
तर हत्यामा उच्च तहको संलग्नता रहेको पाइएपछि हत्याका दोषी फेला नपरेको भन्दै घटनालाई अझै पनि लुकाएर राखिएको छ ।
यतिसम्म की हत्या अनुसन्धानको फाइल पनि बन्द भइसकेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाल प्रहरीको उच्चस्तरीय अनुसन्धान समिति तथा सरकारले गठन गरेको न्यायिक छानबिन समितिले महिनौ लगाएर अनुसन्धान गरे पनि हत्याको कारण र हत्याराका विषयमा कुनै तथ्य बाहिर ल्याएको छैन ।
तर यसअघि सञ्चारमाध्यममा भने बमको हत्या गर्ने भारतीय आपराधिक समूह रहेको तथ्य खुलेको र उक्त अपराधिक समूहसँग गच्छदारको सयौँ पटकसम्म फोन सम्पर्क हुने गरेको प्रमाण बाहिर आएको थियो ।
दुरसञ्चारको कल डिटेल्स अध्ययन गर्दा गच्छदारसँग नियमित रूपमा कयौपटक भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग भएको तथ्य नै फेला परेको समाचारमा उल्लेख गरिएको छ र घटनापछि गृहमन्त्रालयले देखाएको अनुसन्धान तथा सुरक्षाप्रतिको गैरजिम्मेवारीपनले पनि न्यायाधीश बमको हत्या गच्छदारकै संलग्नतामा भएको हुनसक्ने प्रहरीले अनुमान गरेको बताइएको थियो ।
उक्त समाचार अनुसार तात्कालीन गृहमन्त्रीकै सहयोगमा उक्त हत्याकाण्ड भएको भएको प्रहरीले अनुमान समेत गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) उच्च स्रोतलाई उल्लेख गर्दै यसअघि दृष्टि साप्ताहिक लगायत अन्य मिडियाले गच्छदारसँग बब्लुले मोबाइल नम्बर ००९१९८११३८६६५१ र ००९१९००५७७४७०५ बाट कयौ पटक सम्पर्क गरेको समाचार छापेका थिए ।
बमको हत्या हुनुअघि सातपकटसम्म शाहीले तत्कालीन गृहमन्त्री गच्छदारसँग गृह मन्त्रालयमै भेटघाट गरेको पनि प्रहरी स्रोतको दाबी गरेको समाचार उल्लेख भएपनि घटनालाई ढाकछोप गरेर अन्त्य नै गर्ने प्रयास अहिले पनि जारी राखिएको छ ।