जेठ १९ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस र नेकपा (एमाले) सङ्घीयता विरोधी भएको आरोप लगाएका छन् ।

सो दलको शुभेच्छुक सङ्गठन थरुहट तराई लोकतान्त्रिक परिषद्को शनिबार आयोजित प्रथम केन्द्रीय सम्मेलनको उद्घाटनपछि उनले भने, “सङ्घीयता विरोधी यी दुई दलकै कारण संविधानसभा विघटन हुन पुग्यो, काँग्रेस, एमाले दुई पार्टी जस्ता देखिए पनि ‘एक सिक्काका दुई पाटा’ हुन् ।”

राजनीतिक निकासका लागि मुलुक सामु अब संविधानसभाको निर्वाचनबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष गच्छदारले कसैको लहड र बलमिच्याईले निर्वाचन नरोकिने बताए ।

सरकारले अब छिटै निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनको विपक्षमा देखिएका दललाई सहमतिमा ल्याउने प्रयास गरिने, तर सहमति हुन सकेन भने पनि निर्वाचन रोकिँदैन भने ।

सम्मेलन उद्घाटन कार्यक्रममा महासचिव जितेन्द्र देव, केन्द्रीय सदस्य अब्दुलकरिम खाँ, देवी चौधरी, रामजनम चौधरीलगायतले संविधानसभाको निर्वाचनमा आप्mनो दलले भारी मत ल्याउने दाबी गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।