जेठ १९ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले गणतन्त्र दिवसको सन्दर्भमा शनिबार राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
काठमाडौँ धुम्बाराहीस्थित शङ्खपार्कमा आयोजना गरिएको सो चियापानमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरू, काँग्रेस भ्रातृसंस्थाका प्रमुख एवम् प्रतिनिधि तथा पार्टीका विभिन्न तहका कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ताको कार्यक्रममा सहभागी भए ।

त्यस्तै प्रा लोकराज बराल, डा जयराज आचार्य, प्रा कपिल श्रेष्ठ, दमननाथ ढुङ्गाना, डा भोला रिजाललगायत कानुन व्यवसायी, इञ्जिनियर, पत्रकार, कलाकार, उद्योगी व्यवसायीसहित सर्वसाधारणको पनि चियापान कार्यक्रममा सहभागिता थियो ।
नेता आचार्यले २०६५ जेठ १५ मा गणतन्त्र दिवस घोषणा भएपछि २०६६ सालदेखि प्रत्येक वर्ष गणतन्त्र दिवसको सन्दर्भमा यसप्रकारको चियापान कार्यक्रम गर्दै आएका छन् ।
सो अवसरमा केन्द्रीय सदस्य नरहरि आचार्यले अहिले देश गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा रहेकाले त्यसका लागि संविधान बनाउन संविधानसभाको चुनाव गर्नुपर्ने अवस्थामा छौँ भन्दै अहिले सबैको प्राथमिकता चुनाव रहेको बताए ।
संविधानसभाको चुनाव गरेर मात्रै संविधान बन्न नसकेको हिजोको जुन दृष्टान्त छ त्यो अवस्थाको अन्त्य गर्न चुनाव अघि नै केही कुराहरूमा सहमतिमा पुग्न सकियोस् भन्ने हाम्रो प्रयत्न हो भन्दै केन्द्रीय सदस्य आचार्यले दलहरूको अघि निर्वाचन बाहेक अरू कुरा प्राथमिकतामा रहन सक्दैन र मङ्सिरमा चुनाव गर्न नसकिए राजनीतिक दलको सान्दर्भिकता अझ बढी कमजोर हुन्छ भने ।
“दलहरूले आफ्ना अडानमाथि पुनःविचार गरी अब उपाय निकाल्नुपर्छ, नेताहरू अडानमुखी हैन उपायमुखी हुनुपर्छ, अहिलेको समस्या भनेको सबैलाई समेट्ने ढङ्गले नेतृत्व गर्ने समन्वयकारी नेताको खाँचो छ, अहिले बढी अडानमुखी नेता देखिएजस्तो लाग्छ,” नेता आचार्यले भने ।
पार्टी सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद्का अध्यक्षले राजीनामा दिनुपर्छ भन्नुभएको कुरालाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा नेता आचार्यले त्यसबारेमा जनमानसमा कुरा उठेकाले त्यो कुरा सबै पार्टीलाई चुनावमा ल्याउने सुझाव भएको कुराका रूपमा आफूले बुझेको प्रतिक्रिया दिए ।







