१६ जेठ । नेपाल विद्यार्थी सङ्घका विद्यार्थीले स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै आजदेखि रिले अनशन सुरु गरेका छन ।
लैनचौरस्थित सरस्वती क्याम्पस र बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनशन थालिएको हो । सरस्वती क्याम्पसमा चन्द्र रोकाय तथा पद्मकन्या क्याम्पसमा शोभा भण्डारीको संयोजकत्वमा अनशन सुरु गरिएको हो । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले निर्धारित समयमा स्ववियु निर्वाचन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै निर्वाचनको वातावरण बनाउन आफूहरूले अन्य दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताए ।
नेविसङ्घले पुतलीसडकस्थित शङ्करदेव क्याम्पस, चाबहिलस्थित पशुपति क्याम्पसलगायत अन्य क्याम्पसमा भने विरोध प्रदर्शन सुरु गरेको छ ।
विभिन्न विद्यार्थी सङ्गठनबीच विद्यार्थी भर्नाको विषयमा अस्वस्थ्य चलखेल र अनेक आशङ्का तथा मतभेद कायम भएपछि अन्ततः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चितकालका लागि स्थगन भएको हो । त्रिविले निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै निर्वाचन बिहीबार स्थगन गरेको थियो । यसअघि त्रिविले यही जेठ २३ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो ।
आरोपप्रत्यारोप
विभिन्न विद्यार्थी सङ्गठनका नेताले बिहीबार स्थगन भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अब यस वर्ष हुने सम्भावना टरेको बताएका छन् ।
निर्वाचनका लागि उपयुक्त वातावरण नभएको ठान्दै त्रिभुवन विश्वविद्यालयले आज यही जेठ २३ गतेका लाति तोकेको निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको थियो । उनीहरूले यस्तो स्थिति आउनामा आफ्नो सङ्गठन जिम्मेवार नभएको भन्दै अरू सङ्गठनलाई दोष लगाएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले) निकट अनेरास्ववियुले एमाओवादी र नेकपा–माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का कारण स्ववियु निर्वाचन अनिश्चित भएको आरोप लगाएका छन् भने अखिल (क्रान्तिकारी) का नेता त्यसमा सहमत छैनन् तर दुवै क्रान्तिकारीबीच पनि दोष थोपर्ने कार्य सुरु भएको छ ।
निर्वाचनलाई प्रभावित पार्ने गरी रातारात गरिएको फर्जी विद्यार्थी भर्ना खारेज गर्नुपर्ने मागसहित नेकपा–माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले केन्द्रीय क्याम्पस, रत्नराज्य, ताहाचल र ग्रामीण आदर्शमा तालाबन्दी जारी राखेपछि सोही विषयमा ठूला पार्टीनिकट विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा तालाबन्दी गरेको थियो । पूर्वतिर लिम्बूवानलगायत जातीय विद्यार्थी मोर्चाले जेठ २३ गते आमहडताल नै घोषणा गरेका थिए तर यसबीचमा विश्वविद्यालय वा शिक्षा मन्त्रालयले वार्ता वा समाधानको ठोस पहल नभएको कतिपय विद्यार्थी नेता बताउँछन् ।
एमाओवादी निकट अनेरास्ववियुका सचिव अनिल शर्मा निर्वाचन स्थगन हुनालाई केही सङ्गठन पत्तासाफ हुने त्रासका कारण गरिएको षड्यन्त्र भएको बताउँदै तत्काल अर्काे मिति घोषणा गर्न माग गर्छन । उनले मिति घोषणा नभए आफूहरू आन्दोलनमा जाने चेतावनी पनि दिए ।
माओवादीनिकट अखिल (क्रान्तिकारी) का अध्यक्ष शरद् रसाइली भने आफूहरूले स्वच्छ र लोकतान्त्रिक निर्वाचनका लागि चार क्याम्पसमा तालाबन्दी गरे पनि अर्काे क्रान्तिकारी विद्यार्थी सङ्ठनले चार सय क्याम्पसमा तालाबन्दी गरेकाले समस्या भएको बताए । नेता रसाइलीले अब यो वर्ष निर्वाचन हुन्छ भन्नु मनोगत हुने प्रतिक्रिया दिए ।
नेविसङ्घका नेता क्षितिज भण्डारी दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनको किचलो र रणनीतिका कारण यस्तो स्थिति आएको बताए ।
अनेरास्ववियुका सचिव रचना खड्काले पनि निर्वाचन स्थगन हुनु आपत्तिजनक हो भन्दै तालाबन्दीलगायत घटनामा विश्वविद्यालय समाधानको पहल नगरी रमिते मात्रै बनेको आरोप लगाइन् ।