२ लाख नक्कली भारतीय नोटसहित एक जना पक्राउ

जेठ १६ । भारतीय रूपैयाँको अवैध कारोबारमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको रूपनगर गाविस–३ बस्ने मुस्लिम मियाँका छोरा ३५ वर्षीय मोहम्मद जमिल मियालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मियाँले भारुको अवैध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा भारदह गाविस– १ स्थित कोसी ब्यारेजको बाँधबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले बताएका छन् ।

उनको शरीर खानतलासी गर्दा एकहजार भारुको एक थान र पाँच सय भारुको ४० थान नोट बरामद गरिएको डिएसपी चौधरीले जानकारी दिए ।

पक्राउ परेका मिया नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको बुझिएको छ । राजविराजस्थित जिल्ला प्रहरीको कार्यालय अगाडि रहेको एउटा चिया पसलमा पठाइएको पाँच सयको भारु नोट नक्कली रहेको थाहा पाएर प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा रेखा नामक महिलालाई पक्राउ गरेको स्रोतले बतायो ।

रेखाकै वयानका आधारमा जमिललाई पक्राउ गरिएको र उनको साथबाट करिब २ लाख नक्कली भारतीय रूपैयाँ फेला परेको प्रहरीनिकट स्रोतको दाबी छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।