जेठ १५ । नेताहरु एकले अर्कालाई तथानाम सक्दो गाली गर्ने कुरो त कुनै नौलो भएन । हरेक ठाउँमा उनीहरुले राजनीतिक भाषण मात्रै सुनाउने गरेका छन् । र राजनीतिक भाषणमा पनि एकले अर्कालाई गाली नै गर्ने गरेका छन् ।

तर नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भने आज आयोजित एक कार्यक्रममा राजनीतिक भाषण नै गरेनन् । नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय भवनको आज बिहान शिलान्यास गर्ने क्रममा उनले राजनीतिक कुरा नै नगरेका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक छाडेर बाहिरी जिल्लामा रहेका उनले राजनीतिक कुरा नगर्नुमा जनताको राजनीतिप्रति वितृष्णा बढेर गएको अवस्थालाई मध्यनजर गर्दै त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ ।

भवनको शिलान्यास गर्दै सभापति कोइरालाले लोकतन्त्र र समृद्धि सँगसँगै अगाडि बढ्ने भएकाले लोकतन्त्रबिना समृद्धि हुनै नसक्ने विचार भने व्यक्त गरे ।

चितवन भरतपुरकी गौरीदेवी प्रधानले आफ्ना स्वर्गीय पतिको सम्झनामा करिब रु एक करोडको लागतमा सो भवन बनाइदिन लाग्नुभएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।