जेठ १५ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका जनआन्दोलनमा अग्रमोर्चामा रही महत्वपूर्ण योगदान पु¥याएका नागरिक समाजले आज भिन्न किसिमले गणतन्त्र दिवस मनाएका छन् ।

सरकारले औपचारिक रुपमा टुँडिखेलमा आयोजना गरेको गणतन्त्र दिवस समारोहमा नागरिक समाज तथा पेसागत सञ्जाल (पापड) का पदाधिकारीले सहभागिता जनाउनुको साटो बेग्लै कार्यक्रम गरी गणतन्त्र दिवस मनाए ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल, राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानले आज नयाँ बानेश्वरमा आयोजना गरेको सभामा वक्ताहरुले राष्ट्रियता र लोकतन्त्र जोगाउन लोकतन्त्र र गणतन्त्रवादी एकपटक पुन गोलबद्ध हुन जरुरी रहेको आवश्यकता औँल्याए ।

राजनीतिक नेतृत्वले जनभावना र लोकतन्त्रको मर्मविपरीतका काम गरेकोले त्यस्ता निर्णयलाई फिर्ता लिन र राजनीतिक स्थायित्वका लागि छिटो निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनीहरुले राजनीतिक दल र सरकारले यो अवधिमा गरेका लोकतन्त्रविरुद्धका गतिविधि कोट्ट्यायाउने प्रयास गरे ।

मुलुकमा गणतन्त्रस्थापना भएको पाँच वर्ष पुग्दा नपुग्दै सरकार, राजनीतिक दल र नागरिक समाजले बेग्लाबेग्लै ढङ्गले गणतन्त्र दिवस मनाउनुपर्ने अवस्था सिर्जना हुनुले लोकतन्त्रवादीलाई पिरलो पारेको भनी उनीहरुले गुनासो गरे ।

नागरिक समाजका प्रतिनिधिले स्वच्छ निर्वाचनको सुनिश्चितता गर्न, रायमाझी आयोगका दोषीलाई कारबाहीको दायरामा ल्याउन, मुलुकमा दण्डहिनताको अन्त्य गर्न माग गर्दै अलोकतान्त्रिक बाटोले लोकतान्त्रिक गन्तव्यमा कहिल्यै पुग्न नसकिने तर्क प्रस्तुत गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन हर्षाेल्लासपूर्ण रुपमा एकताबद्ध भएर गणतन्त्र दिवस मनाउनुपर्नेमा छुट्टाछुट्टै समारोहको आयोजना गरिनुले शान्तिकामी नेपालीलाई दुखित तुल्याएको वक्ताहरुको भनाइ थियो ।

प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष एउटै व्यक्ति रहनु भनेको लोकतान्त्रिक शासन व्यवस्थाको मूलमर्मको रुपमा रहेको शक्तिपृथकीकरणको सिद्धान्तविपरीत कार्य भएकाले प्रधानन्यायाधीशबाट तत्काल राजीनामा दिन अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराउने प्रयास पनि उनीहरुले गरेका छन् ।

नागरिक समाजले आयोजना गरेको सभामा सहभागी भई नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा–माओवादीका उच्च नेतृत्वले समेत आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

सभामा पुगेर विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, तत्कालीन व्यवस्थापिका–संसदमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख सचेतक रहनुभएका लक्ष्मण घिमिरे, एमालेका महासचिव ईश्वर पोखरले, नेकपा–माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाललगायतले नागरिक समाजको अभियानप्रति ऐक्यबद्धता प्रकट गरेका थिए ।

सो अवसरमा नागरिक समाजका अगुवा गौरीशङ्करलाल दास, नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, महासचिव सुनिल पोख्रेल, पूर्वअध्यक्ष शम्भुथापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष महेन्द्र गुरुङ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्की, जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मीरा कायस्थलगायतले पछिल्लो समय राजनीतिक दलका गतिविधि अलोकतान्त्रिक र अराजकतर्फ उन्मुख भएकाले त्यसलाई रोक्न नागरिक समाजले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।

सभामा हास्य कलाकार मनोज गजुरेलले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीलाई गालीगलौज गर्नुको साटो लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउने गरी उनीहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेतृत्वप्रति नागरिक समाज र आम जनताले खबरदारी गर्न जरुरी रहेको बताए ।

सभामा कवि एवम् साहित्यकारले आन्दोलनका लागि ऊर्जा दिने खाले गीत कवितासमेत प्रस्तुत गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।