जेठ १३ । रौतहटका दुई पूर्व सभासद्को विद्युत् महसुल रकम नतिरेका कारण लाइन काटिएको छ । लाइन काटिएपछि मात्र उनीहरुले महसुल बुझाएका छन् ।

नेपाल विद्युत् प्रधिकरण गौर शाखाले पटक पटक वक्यौता रकम तिर्न अनुरोध गर्दा समेत बेवास्ता गरेका कारण उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

जिल्लाको व्रम्हपुरी गाविसमा घर भएका निलम बर्मा र मुडबलवा गाबिसमा घर भएका रम्भा देवीको घरको विद्युत् लाइन काटिएको प्राधिकरणका प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

प्राधिकरण गौरका अनुसार लाइन काटिएपछि उनीहरुले महसुल बुझाएका हुन् । अहिले लाइन जोडिसकिएको छ ।

मधेसी जनअधिकार फोरम नेपालका रम्भादेवी र राष्ट्रिय मधेस समाजवादी पार्टीसँग आबद्ध रहेका नीलमको घरको विद्युत् लाइन काटिएको हो ।

विद्युत् महसुल उठाउन बाँकी ग्राहकहरुबाट नेपाल विद्युत् प्राधिकरण रौतहट शाखाले रु दुई करोड पचास लाखभन्दा बढी रकम असुल गरिसकेको छ ।

बक्यौता उठाउन करिब रु ११ करोड बाँकी रहेको प्राधिकरण गौर शाखाले जनाएको छ । एक महिना अघिदेखि विद्युत् प्राधिकरणले समयमा नै महसुल नबुझाउने ग्राहकको लाइन काट्ने अभियान सुरु गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।