जेठ ११ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको दारेचोक–३ घोप्टेभिरमा गए राति पेट्रोल ट्यांकर पल्टिएर आगलागी हुँदा जलेर मृत्यु भएका भनिएकामध्ये एकको शुक्रबार बेलुका प्रहरीले जीवितै उद्धार गरेको छ ।

    पेट्रोल ट्यांकरमा जलेर मृत्यु भयो भनिएका मकवानपुर जिल्ला निबुवाटार–६ का सुरेश लामालाई प्रहरीले स्थानीयवासीको सहयोगमा शुक्रबार बेलुका जलेको पेट्रोल ट्यांकरभन्दा ५० मिटर टाढा गम्भीर घाइते अवस्थामा उद्धार गरेको हो ।

प्रहरीका अनुसार अम्लेखगन्जबाट काठमाडौँका लागि २० हजार लिटर पेट्रोल बोकेर गुडिरहेको ना४ख ३२६४ नंको ट्यांकर सडकबाट करिब दुई सय ५० मिटर तल त्रिशूली किनारमा पल्टिएको थियो । ट्यांकर पल्टिएपछि जलेको अवस्थामा चालक तथा ट्यांकरधनी हेटौंडा– ५ बसामाडीका गोपालसिंह लामाको अर्ध जलेको अवस्थामा प्रहरीले लास फेला पारेको थियो ।

    सो ट्यांकरमा दुई सहयोगी निवुवाटार–६ मकवापुरका लामा र प्रकाश विष्ट रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । घटनास्थलमा ट्यांकरको जल्न बाँकी केही भाग नरहेकाले दुवै शव जलेर नष्ट भएको गुरुङले जानकारी दिए पनि गाडीबाट उछिट्टिएर रहेको अवस्थामा एक जनालाई घाइते अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।