जेठ ८ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल प्रविधिमा लैजाने तयारी स्वरुप अब सवारी साधनका नम्बर प्लेट पुनः परिवर्तन हुने भएका छन् ।
परिवर्तित नयाँ नम्बर प्लेट इम्बोस्ट र डिजिटल हुने भएको छ । यो सबै कामका लागि भने २ अर्ब भन्दा बढि खर्च हुने अनुमान रहेको आजको कारोबार दैनिकले खबर छापेको छ ।
पुनः नम्बर प्लेट गरिन लागिएको यो तत्कालको निर्णय भने होइन दुई वर्षअघि नै सरकारले यो व्यवस्था लागू गर्न तयारी गरेको थियो । तर निर्णय गरेपनि कार्यान्वयन नहुँदा पछि हातले लेखेको नम्बर प्लेट राख्ने निर्णय अनुसार अहिलेसम्मका नम्बर प्लेट रहँदै आएका छन् ।
नयाँ परिवर्तित हुने नम्बर प्लेट अन्तर्गत एकपटक सवारी साधनमा सेट गरेपछि वर्षौसम्म तथ्यांक सुरक्षित रहने बताइएको छ । तर एकपटक नम्बर प्लेट खोलेपछि पुन तथ्याङ्क सेट गर्नुपर्ने हुन्छ ।
डिजिटल नम्बर प्लेटमा कर तिरे नतिरेको चोरी भए नभएको सवारीको अवस्थाको तथ्याङक समेत राख्न सकिने बताइएको छ ।
यसअघि २०६७ साल फागुनमा भने दुर्घटना गरेर भाग्ने सवारी साधनको नम्बर प्लेट पहिचान गर्न गार्हो भएको भन्दै महानगरीय ट्राफिक महाशाखाले सवारी साधनमा लगाएका डिजिटल नम्बर हटाएर हस्तलिखित नम्बर प्लेट राख्न निर्देशन दिएसँगै सबै सवारी साधनका नम्बर प्लेट हातले लेखेर चलाइँदै आइएको थियो ।
यसरी बारम्बर नम्बर प्लेट परिवर्तन भईरहँदा सवारी चालकहरुलाई भने मार पर्ने भएको छ । कतिपयले भने व्यापारीसँग मिलेर आर्थिक प्रलोभनका लागि समेत बेला बेला नम्बर प्लेट परिवर्तन भइरहने तर्क समेत गर्ने गरेका छन् ।







