जेठ ६ । नागरिक समाजका अगुवाहरुले विदेशी नागरिकलाई अवैध रुपमा धमाधम नागरिकता वितरण गरेर देशलाई फिजिकरण गर्दै सिक्किम बनाउने खेल भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तरखर भईरहेको बेलैमा धमाधम नागरिकता वितरण गरिरहेको अवस्था र पत्रपत्रिकामा दिनहुँ जसो भारतीयलाई नागरिकता भन्ने जस्ता समाचारहरुले प्राथमिकता पाईरहेको बेला नागरिक अगुवाहरुले भने देशलाई फिजिकरण गर्दै सिक्किम बनाउने खेल भएको औल्याएका हुन् ।

उनीहरुले विदेशी नागरिकलाई अवैध रुपमा नागरिकता वितरण गरेर नेपालको राष्ट्रियता संकटमा पारिएको भन्दै त्यसतर्फ सचेत हुन सबैलाई आग्रह समेत गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी, प्रा. लालबाबु यादव, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले विदेशी नागरिकलाई अवैध रुपमा खुलेआम नागरिकता बाड्ने काम भईरहेको र त्यो देशका लागि सहनै नसक्ने अवस्था भएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनीहरुले भौगोलिक हिसाबले पनि राष्ट्रियता धरापमा परेको भन्दै उनीहरुले उत्तर र दक्षिणका छिमेकीले नेपालको सीमा मिच्दा पनि सरकारले चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।