जेठ ५ । सिरहाको दक्षिणी गाढा गाविस–९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् ।
आज बिहान घटनास्थलबाट शव लिएर फर्किएका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले राति १२ बजेतिर घरमा श्रीमतीको हत्या गरेपछि सोही गाविसको वडा नं– ३ मा रहेका साढुभाइ नन्दीलाल महतोको घरमा छोराछोरीलाई छोडी गाउँदेखि पूर्वतिर रहेको बलान नदीतिर भागेको गाउँलेलाई उद्धृत गर्दै बताए ।
‘मैले श्रीमतीको हत्या गरेँ, छोराछोरीलाई हेरिदिनु’ भन्दै छोराछोरीलाई साढुभाइको घरमा छोडेर फरार भएका श्यामसुन्दरको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले उल्लेख गरे ।
घटनाको सूचना पाएलगत्तै घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
प्रहरीले महतोको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसमेत बरामद गरेको छ ।
प्रहरीले मृतक महतोको माइती सीमावर्ती भारतीय गाउँमा भएको सूचना पाएपनि यकिन नभएपछि सुनसरीको कोसी टप्पु क्षेत्रमा बस्दै आएका सासुससुरा र जेठाजुलाई घटना लगत्तै बोलाएको छ ।
मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । रासस