जेठ ४ । हाम्रो घडीमा १० बजेर १५ मिनेट हानिसकेको थियो । सबैतिर सुनसान थियो, रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को गेट अगाडी भने पुलिसको भ्यान थियो । ८/१० जना प्रहरीहरु तैनाथ थिए । भित्र हेर्दा १०/२० जनाको संख्यामा विद्यार्थीहरु यता र उता गरिरहेका थिए । प्रशासनमा भने विद्यार्थी भनेर गरिन लागेको भर्नाको ठूलो चाङ थियो । त्यसलाई रुँघेर बसेका थिए ३/४ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरु ।

अरु बेला भए आर आर क्याम्पसको बेलुकी सिफ्टको प्रशाशन तथा क्याम्पस ३:५५ मा खुलेर ७ तथा बढीमा पौने आठ बजे नै बन्द हुनुपर्ने थियो । तर, जेठ २३ मा स्ववियु निर्वाचन हुने पक्कापक्की भएपछि भर्नाको अन्तिम दिन शुक्रबार आधा रातसम्म आरआरमा भने भर्ना गरिएको हो ।

भर्ना गर्नेहरुमा भने एमाओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अखिलको तछाड मछाड देखिएको छ । सो क्रममा उनीहरुबीच विवाद समेत भएको थियो । भर्ना गर्दा उनीहरुबीच कसले धेरै गर्ने भनेर ठूलो प्रतिपस्र्धा भएको प्रत्यक्ष एक विद्यार्थीले हेल्लोखबर डटकमसँग बताए ।

उक्त क्याम्पसमा भर्ना गर्न बैंकमा भौचर भर्नु पर्ने भएकाले दुवै संगठन विद्यार्थीको नाममा भौचर भर्न जमलस्थित नेपाल बैंकमा लाइनमा थिए भने भौचर भरिसकेपछि बाइकमा कुदेर आरआरमा पुगेर प्रशासनमा भर्ना फाइलको चाङ थुपार्ने गरेका थिए । आधा रातसम्म भर्ना जारी रहेपछि प्रशासन कर्मचारी भने त्यहीँ नै चिसो र खाजा खार्दै काम गरिरहेका थिए ।

यसैबीच, भर्ना गर्ने क्रममा अखिलका १९९ वटा पैसा तिरेको भौचरबाट विद्यार्थी भर्ना गर्ने क्रममा दुई विद्यार्थी संगठनबीच किचलो भएपछि पौने एघार बजे केही मात्रामा त्यहाँ तनाब उत्पन्न भएको छ । १९९ वटा भौचर भरिसकेकोबाट उनीहरुले भर्ना गर्न नपाउँदा त्यहाँ किचलो उत्पन्न भएको हो । उक्त भर्ना गर्न अखिल क्रान्तिकारीले रोकेका हुन् ।

लाखौँको चलखेल
आर आर क्याम्पसलाई एमाले निकट अखिलको अघोषित केन्द्रिय कार्यालय नै मान्ने गरेका छन् कतिपयले । र त्यहाँ अहिलेसम्म जे जसरी हुन्छ स्ववियुमा अरुलाई छिर्न दिएका छैनन् । त्यसमा पार्टी केन्द्रले जे गर्न पनि पछि पर्दैन । यसअघिको मुख्य प्रतिस्पर्धीका रुपमा रहेको नेविसंघलाई त्यहाँ छिर्न समेत दिएको थिएन । तर, २०६५ सालमा माओवादी निकट क्रान्तिकारी आएपछि भने त्यहाँ प्रतिस्पर्धा हुन थालेको हो । तर पनि अनेरास्ववियुले त्यहाँ जितेका थिए । नजित्ने अवस्थामा उनीहरुले क्याम्पसमा आगो लगाएर निर्वाचन बिथोलेको र पछि थप भर्ना गरेर चुनाव जितेको भनाई क्रान्तिकारीको छ ।

अहिले भने आर आरमा एमाओवादी निकट अखिल क्रान्तिकारी जित्नका लागि निक्कै मेहनत गरेको देखिएको छ । स्रोतका अनुसार उक्त कलेजमा अखिल क्रान्तिकारीले मात्रै ४० लाख छुटाइएको स्रोतको दाबी छ । उक्त योजना अखिलले थाहा पाएपछि एमालेमा हलचल आएको र उक्त रकम र योजनालाई बिफल पार्न अखिल पनि त्यो भन्दा राम्रो तयारीमा उत्रेको र ४० लाख भन्दा बढी खर्च गर्दै गरेको स्रोतले जनाएको छ ।

शुक्रबार पनि लाखौँको चलखेल
शुक्रबार अर्थात स्ववियु निर्वाचन अगाडी विद्यार्थी भर्नाको अन्तिम दिन मात्रै पनि आर आरमा लाखौँको चलखेल भएको छ । तर, यसअघि पनि भर्ना भईरहेका थिए । त्यहाँ शुक्रबार मात्रै दुई विद्यार्थी संगठनले झण्डै ६ सयदेखि ८ सयको संख्यामा विद्यार्थी भर्ना गरेका छन् । तर, ती विद्यार्थी पढ्नका लागि भन्दा पनि स्ववियु चुनावमा भोट हाल्ने र परी गएमा भिड्ने खालका छन् । यसरी, करिब ७, ८ सय भर्ना हुँदा पनि बिए फस्टको लागि नर्मल विषयमा भर्ना हुन ३७ सय ४०, सेकेण्ड इयरको लागि ४६ सय, त्यस्तै एमएम फस्ट र सेकेण्ड एयर नर्मल विषयको लागि ९ हजार हाराहारीमा लाग्ने गर्दछ । यसो हुँदा शुक्रबार मात्रै आरआरमा स्ववियु चुनावका लागि भनेर अवैद्य व्यक्तिलाई विद्यार्थीका रुपमा भोटकै लागि भर्ना गर्दा २५ देखि ३५ लाखसम्मको चलखेल भएको हुनसक्ने अनुमान गरिएको छ ।

अरु दलका विद्यार्थी त हेरेको हेरैं
यसरी दुई संगठनले लाखौँ लाख फालेर भर्ना गरेपछि अन्य विद्यार्थी संगठन भने हेरेका हेरैँ भएका छन् । आर आरमा कांग्रेस निकट विद्यार्थी भातृ संगठनले देखिने गरी भर्ना गरेको छैन । त्यस्तै मोहन वैद्य नेतृत्व निकट विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीले भने भर्ना हुन छुटाएका आफू निकटका विद्यार्थीहरुलाई आग्रह गरेर केही विद्यार्थीको भर्ना गरेको छ । आर आर क्याम्पसमा अन्य दलका विद्यार्थी संगठनको खासै प्रभाव छैन ।

भर्नाका रमाइला पक्षहरु
आधा रातसम्म आर आरमा भर्ना भईरहँदा भोक लागेर कर्मचारीहरु त्यहीँ नास्ता खाईरहेका थिए । प्रशासनका कर्मचारी वाक्क भएर टाउकोमा हात पटक पटक लगाएको देख्न सकिन्थ्यो । अझ, भर्नाका चाङ नजिकै प्रशासनमा एक जना वैद्य निकटका विद्यार्थी पनि थिए । उनलाई भने भर्नाको लागि गरिएको उक्त खेल देखेर आश्चर्य र रमाइलो लागेर होला, अझै आउँदैछ रे भन्दै हास्दै थिए, त्यस्तै विद्यार्थीको भर्नाको भौचर भर्नेले गर्दा बैंकमा भने अन्यले स्थान पाउन हम्मे हम्मे परेको थियो । अझै रमाइलो पक्ष त के भने सायद यो नै होला विश्वमा पहिलो पटक राति ११ बजेसम्म पनि विद्यार्थी भर्ना भएको जहाँ की ८ बजे नै कलेज बन्द हुनुपर्ने हो ।

यता, आरआरमा त्यस्तो चर्तिकला भईरहँदा सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा पनि रमाइला र यथार्थतापूर्ण स्टाटस अपडेट भइहेका थिए । आर आर मास्टरमा पढ्ने लुइटेल दिनेशले लेखेका छन् ‘सत्य के हो ? कलेजतिर त कुनै पार्टीले एकै दिनमा ५०० विद्यार्थी भर्ना गरेको हल्ला सुनिन्छ निर ? स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लागेकै हो ?

त्यस्तै विद्यार्थी नेता समेत रहेका दिपक देवकोटाले भने आर आर क्याम्पस प्रमुख रुद्र पौडलको रात्रि लिला ११ बजेसम्म भर्ना भनेर ११ बज्न लाग्दा स्टाटस लेखेका थिए । उनले अगाडी बल्खुको पानी खाएर आरआरमा डकार्ने रुद्रको रुद्री गर्नुपर्छ समेत भनेका छन् ।

खै त शैक्षिक मुद्धा ?
अब संविधानसभाको चुनाव गराउन पनि नागरिकता वितरण गरिदैछ । दिनहुँ भारतीयलाई नागरिकता भनेर समाचार आईरहन्छन् । विद्यार्थीहरुको स्ववियु निर्वाचनमा पनि चाला पढि जानु भयो । उनीहरुलाई थाहा छ कि विद्यार्थीले भोट दिँदैनन् । त्यसैले कार्यकर्तालाई धमाधम भर्ना गरिदैँछ । त्यो पनि सर्वसाधरण तथा व्यापारीको पैसामा । डन, कार्यकर्ता, तथा ट्यापे मुन्द्रेलाई भर्ना गराएर स्ववियु निर्वाचन जित्न खोज्नेले शैक्षिक मुद्धा बिर्सन ठिकै हो । त्यहीँ भएर त देशको यो हालत ? प्रश्न उठन् सक्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।