जेठ ४ । मलेसियन नागरिकद्धारा सञ्चालित क्यासिनो सांग्रिलाले नेपालमा काम गर्ने श्रम स्वीकृति (वर्क पर्मिट) नलिएको विदेशी नागरिकलाई महाप्रवन्धकको जिम्मेवारी दिएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् ।

क्यासिनो व्यवस्थापनले पर्यटन भिसामा नेपाल आएका इयान वेल्जियमलाई महाप्रवन्धकको जिम्मेवारी दिनु श्रम कानुनको दफा ४ क को उपदफा २ विपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन । गैर कानुनी ढंगले नेपालमा बसेको विदेशी नागरिकलाई क्यासिनोको महाप्रवन्धक जस्तो जिम्मेवारी दिँदासमेत सरकार मुकदर्शक बनेर बसेपछि आफूहरु आन्दोलित हुनु परेको क्यासिनोका मजदुरहरुको भनाई छ ।

महाप्रवन्धकको गैर कानुनी नेपाली बसोवास र गैर कानुनी जिम्ेवारी प्रति आवश्यक कारवाहीको माग गर्दै मजदूरहरुले अध्यागमन विभागमा यसअधि नै निवेदन दिइसकेका छन् । यद्यपि, नीति निर्माण तहमा महाप्रवन्धकले आर्थिक तथा राजनीतिक पहँुच स्थापित गरेकाले कारवाही नभएको कर्मचारीको आरोप छ ।

मजदूरहरुले बैशाख २४ गते आवश्यक कारवाहीको लागि अध्यागमन विभागमा निवेदन दिइसकेको र क्यासिनो व्यवस्थापन र सरोकारवाला निकायमा पनि उक्त गैर कानुनी कामको उजुरी गरिसकेको श्रोतले बतायो ।

क्यासिनो व्यवस्थापकसँग भने टेलिफोन सम्पर्क हुन सकेन । महाप्रवन्धक वेल्जियमले भने आफ्नो बसाई कानुनी भएको प्रतिक्रिया दिए ।

यस्तै क्यासिनो महत्वपूर्ण जिम्मेवारी सम्हालेका रामाशिव भन्ने अर्का मलेसियन नागरिकले पनि श्रम स्वीकृति नलिएको मजदूरहरुको गुनासो छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।