चन्द्रकला राई : ३ जेठ रासस । वैदेशिक रोजगारीबाट आफ्नो देश फर्केका युवा के गर्छन् त, घरमै बस्छन् वा कुनै उद्योग व्यवसाय गर्छन् ? यस विषयमा हालसम्म कुनै निकायबाट खासै अध्ययन–अनुसन्धान भएको पाइँदैन भने सरकारले पनि उनीहरुलाई उद्यम व्यवसायतर्पm आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनसकेको छैन ।

भोजपुर जिल्लाका केही युवा भने विदेशमा बस्दाको पीडा सहन नसकेपछि त्यहाँ सिकेको सीपबाट आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले फर्केर आफ्नै गाउँ घरमा उद्यम व्यवसाय सुरु गर्न थालेका छन् ।

कतारमा छ वर्ष काम गरेर फर्केका भोजपुर, दलगाउँका नगेन्द्र कार्की र दुबईमा चार वर्ष बसेर फर्केका ज्ञानु कार्कीले भोजपुरमा एक वर्षअघिदेखि संयुक्तरुपमा कार्की गाई फार्म सञ्चालन गरेका छन् । उनीहरुले गाई फार्मबाट दूध उत्पादन गरी मासिक रु ७० देखि ८० हजारसम्म कमाउने गरेका छन् ।

यसैगरी कोरियामा पाँच वर्ष काम गरेर फर्केका ठूलोटुम्माका केशव खड्का र खाडी मुलुकबाट फर्केका भोजपुर–४ का गोपाल तामाङले जिल्ला सदरमुकाम नजिकै जग्गा भाडामा लिएर विगत दुई वर्षदेखि माछा, कुखुरापालनका साथै यातायात व्यवसायसमेत सञ्चालन गर्दैआएका छन् । उनीहरुले अन्य पाँच छ जनालाई पनि रोजगारी दिएका छन् । उनीहरुले पनि खर्च कटाएर वार्षिक तीन चार लाख नाफा कमाउने गरेका छन् ।

साउदी अरबमा १० वर्षसम्म कुकको काम गरी फर्केका भोजपुर, तिम्माका दीपकुमार राईले जिल्ला सदरमुकाम नजिकै आफ्नै घरमा घरेलु फर्निचर उद्योग खोलेका छन् । उनले पनि सो व्यवसायबाट राम्रै आम्दानी भइरहेको बताएका छन् ।

उनीहरु मात्र नभई वैदेशिक रोजगारीबाट फर्केका जिल्लाका अधिकांश युवाले आफ्नै गाउँघरमा स्वरोजगारमूलक व्यवसाय गर्न थालेका छन् । यातायातको सहजता र नियमितरुपमा बिजुली आपूर्ति हुन थालेपछि वैदेशिक रोजगारमा लागेका युवा जिल्ला फर्केर स्वरोजगारमूलक व्यवसायमा आकर्षित भएका हुन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चिर्दै उनीहरुले आफ्नै गाउँघरमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

विदेशमा कडा परिश्रम गर्नुपर्ने, घरपरिवारबाट पनि टाढा रहनुपर्ने र पैसाको हकमा पनि त्यहाँ र यहाँ केही फरक नभएको वैदेशिक रोजगारीबाट फर्केर भोजपुरमा दुग्ध उद्योग सञ्चालन गरिबसेका आम्तेक–६ पितौलाका सुरेन्द्र पराजुली बताउँछन् । उनले दुग्ध व्यवसायबाट मासिक रु १५÷२० हजार आम्दानी हुने गरेको पनि बताए ।

भोजपुरमा वैदेशिक रोजगारबाट फर्केका कति युवाले स्वरोजगारमूलक व्यवसाय गरिरहेका छन् भन्ने आधिकारिक तथ्याङ्क भने छैन । प्रायजसो चार देखि १० वर्ष विदेश बसेर फर्केका युवा विभिन्न व्यवसायमा संलग्न रहेको पाइएको छ । यसक्रममा स्थानीय युवा दूध उत्पादन, बङ्गुर, माछा र कुखुरापालनका साथै फेन्सीपसल, तरकारी खेतीलगायतका आयमूलक व्यवसायमा लागेको पाइएको छ ।

“विदेशमा अत्यन्त जोखिमपूर्ण काम गर्नुपथ्र्यो, मेसमा काम गरेकाले धेरै दुःख पाइयो, समयमा पारिश्रामिक पाइँदैनथ्यो, तर आफ्नो देशमा त घरपरिवारसँगै बसेर सामान्य काम गर्दा पनि राम्रै आम्दानी भइराखेको छ”–कार्की गाई फार्मका नगेन्द्र कार्कीले आफ्नो अनुभव यसरी सुनाए ।

भारतको सिलगुडीबाट १२ माउ जर्सी गाई खरिद गरेर ल्याई गत एक वर्षदेखि दूध बिक्री गर्दैआएका उनले गाईवस्तुको मलसमेत बेच्दै आएका छन् । उनको काममा घरपरिवारका पाँच जना पनि खटिन्छन् र अन्य दुई जनाले पनि रोजगारी पाएका छन् ।

परिश्रम गरे आफ्नै देशमा पनि मनग्य कमाउन सकिन्छ । तर विदेश घुम्न पनि पाइने र कमाइ पनि हुने प्रलोभनले अधिकांश युवा विदेश जान तयार भएको नागरिक समाज, भोजपुरका उपसंयोजक नेत्रविनोद लुइँटेल बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–“अधिकांश युवा कामै नसिकी विदेश जान्छन् र दुःखले काम सिक्छन, पछिल्लो समयमा त्यहाँ सिकेको सीप र श्रम स्वदेशमै खर्च गरे राम्रै आम्दानी हुने देखेर आफ्नै देशमा फर्केर स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन थालेकामा निकै खुसी छु ।”

भोजपुरमा पछिल्लो समयमा सडक र विद्युत्को तीव्र विस्तार भइरहेकाले पनि अधिकांश युवामा आफ्नै देशमा केही गर्ने उत्साह जागेको हो । पाँच वर्षअगाडि यातायातको राष्ट्रिय सञ्जाल र विगत तीन वर्षदेखि विद्युत्को राष्ट्रिय प्रसारणमा जोडिएकाले पनि जिल्लाका युवा व्यवसायी बन्न थालेका हुन् । हाल भोजपुरमा १५ भन्दा बढी गाविसमा विद्युत् विस्तार भइसकेको छ भने अन्य गाविसमा पनि विस्तार हुने क्रम जारी छ ।

साथै इस्टर्न हाईड्रोपावरमार्फत स्थानीय स्तरबाट साढे दुई मेघावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजनाको निर्माण काम भइरहेको छ भने विभिन्न गाउँमा लघु जलविद्युत् आयोजनाहरु धमाधम निर्माण भइरहेका छन् ।

नेपालको पूर्व–पश्चिममध्ये पहाडी लोकमार्ग सञ्चालनसँगै बेलायत सरकार, डिएफआइडीको आर्थिक सहयोगमा भोजपुरको उत्तर दक्षिण जोड्ने हिलेभञ्याङ—साङपाङ ३५.३ किलोमिटर र टक्सार–मानेभञ्याङ गाविस ३८ किलोमिटर कृषि सडक पनि हालसालैै सम्पन्न भई सञ्चालनमा आउन थालेको छ ।

भोजपुरको ६३ वटै गाविसमा गाविसस्तरीय कृषि सडक पनि विस्तार भइरहेको छ । ती सडक ग्राभेल मात्र भएमा पनि स्थानीय उत्पादनले बजार पाउने र युवा वर्ग आफ्नै गाउँघरमा व्यवसायमा व्यस्त हुने स्थानीयवासी बताउँछन् ।

वैदेशिक रोजगारीबाट फर्केर आफ्नो व्यवसायमा लागेका जो कोहीले सम्पूर्ण खर्च कटाएर मासिक रु १५ देखि ३० हजारसम्म कमाउँदै आएको युवा व्यवसायी गोपाल तामाङ बताउँछन् । उनी भन्छन्– “वैदेशिक रोजगारीमा जाँदा त्यहाँ सिकेको सीप स्वदेशमै सदुपयोग हुने खालको विशेष नीति तथा कार्यक्रम सरकारले ल्याइदिए राम्रो हुने थियो । तर अहिलेसम्म कतैबाट पहल भएको छैन, यसमा दुःख लाग्छ ।

भोजपुरबाट मात्र १५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।