बैशाख ३१ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट जिल्ला सहइन्चार्जसहित सय जनाको संख्यामा नेता तथा कार्यकर्ता मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

सिन्धुपाल्चोक सहइन्चार्जसहित करिब १०० कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा–माओवादीमा प्रवेश गरेका हुन् ।

यसरी प्रवेश गर्नेमा एमाओवादी जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामा लगायत रहेको समाचार संस्था राससले उल्लेख गरेको छ ।

नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टीमा रहेका देशभक्त अब माओवादीमा गोलबन्द भएर राष्ट्रियताको अन्तिम लडाइँ लड्ने बेला आएको बताए । “हाम्रा पुर्खाले नालापानीदेखि लडेको राष्ट्रियताको लडाइँले अझै पूर्णता पाएको छैन, देश अझै स्वाधीन हुन सकेको छैन, भर्खरैको लोकमान प्रकरण त्यसको उदाहरण हो ।” उनको भनाई थियो ।

उनले आफूहरु वार्ता विरोधी नभए पनि पच्चीसबुँदे बाधा अड्काउ फुकाउ, नागरिकता विधेयकको खारेजी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति खारेजीको पूर्व माग सम्बोधन नभएसम्म वार्तामा नजाने पनि प्रष्टाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।