बैशाख २९ । पाकिस्तानमा शनिबारको आमनिर्वाचन अपेक्षित शान्तिपूर्ण नै रहेको भनिएपनि विभिन्न स्थानमा भने तालिवानहरुले आक्रमण गरी केहीको हत्या गरेका छन् ।
शनिबारको लागि आह्वान गरिएको संसदीय निर्वाचनमा भएका पछिल्ला हिंसाका क्रममा कम्तीमा पनि ३२ जनाको ज्यान गएको बताइएको छ ।
सो निवार्चको क्रममा भएका aआक्रमणहरुमा अन्य २२४ व्यक्ति घाइते भएको जानकारी स्थानीय सञ्चार माध्यमले दिएको छ । मतदानका लागि जम्मा भएका नेता र कार्यकर्ताहरुलाई लक्ष्यगरी सो आक्रमणहरु गरिएको बताइएको छ ।
स्थानीय उदु्र्र टेलिभिजन च्यानलका अनुसार दशघण्टा अर्थात स्थानीय समयअनुसार शनिबारसाँझ ६ बजेसम्म भएको यस निर्वाचनको मतदानको क्रममा बम विस्फोटलगायत गोली प्रहार, रकेट आक्रमण गरी जम्मा ४३ हिंसात्मक क्रियाकलाप भएको थियो ।
यस आक्रमणहरुमा कम्तीमा ३२ व्यक्तिले ज्यान गुमाउनुको साथै २२४ जना घाइते भएका छन् । दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा भएको १७ वटा हिंसामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३५ घाइते भएका थिए ।
त्यसैगरी पाकिस्तानको आर्थिक राजधानीका रुपमा चिनिएको सहर कराँचीमा शनिबार निर्वाचनका लागि मतदान भइरहेको समयमा उम्मेदवारलाई लक्ष्यगरी भएको बम आक्रमणमा १६ व्यक्तिको मृत्यु भएको थियो ।
कराँची सहरमा तालिवानहरुले पटकपटक हमलाको प्रयास गरेका बताइएको छ । सोही हमलामा परी ती नागरिक मारिएका हुन् ।
पाकिस्तानमा वर्तमान आमनिर्वाचनका क्रममा हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ । शनिबारको मतदानमा सहभागी नहुन पाकिस्तानमा रहेका तालिवानीहरुको समूहले पाकिस्तानी नागरिकलाई चेतावानी दिएका थिए ।
तालिवानका प्रवक्ताले शुक्रबार अपरान्ह एक विज्ञप्ति प्रकाशन गरी शनिबारको निर्वाचनमा सहभागी नहुन आह्वान गरेका थिए ।
तालिवानहरुले निर्वाचनमा व्यापक मात्रामा हिंसा हुने आफूहरुले देशका कयौँ निर्वाचन केन्द्रहरुमा आत्मघाती हमलाको योजना गरिरहेकोले मतदानका लागि नजान चेतावानी दिएका बताइएको थियो ।
उता पाकिस्तानको निर्वाचन आयोगले भने हिजोको सो निर्वाचनमा कम्तीमा पनि ६० प्रतिशत नागरिकले मतदानमा भाग लिएका बताएको छ ।
लाखौँ नागरिक अपरान्ह अबेरसम्म पनि मतदानका लागि लाम लागेर बसिरहेकाले उनीहरुलाई मतदानमा सहभागी गराउने उद्देश्यले आयोगले पूर्व निर्धारित समयभन्दा एकघन्टा समय थपेको बताएको थियो ।
– ः २ ः –
पाकिस्तानमा आठ करोड ६० लाख नागरिक मतदाता रहेका छन् । तालिवानहरुले मतदानका लागि सहभागी नहुन चेतावनी दिएको भए पनि उनीहरुले निकै लामो समयसम्म नै लामबद्ध भई शनिबारको निर्वाचनमा सहभागी भएका थिए । एजेन्सी