बैशाख २५ । बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन थ्री को टिम च्याम्पियन बनी स्वदेश फर्किएको नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमलाई आज भव्य स्वागत गरिएको छ ।

टोलीको नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधीकारी तथा स्वस्फुर्तरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका क्रिकेटप्रेमी नेपाली नागरिकले पञ्चेबाजा बजाएर, फूल, अबिर र खादा लगाएर बिजयी खेलाडीको सम्मान गरेका थिए ।

क्रिकेट प्रेमीहरुले नेपाली क्रिकेट जिन्दावाद, नेपाली शान क्रिकेटद्वारा पहिचानलगायतका जोसिला नारा लगाउनुका साथै यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोलगायतका गीत गाएर खेलाडीको स्वागत गरेका थिए ।

क्रिकेट टोली कप्तान पारस खड्काले यो जित समग्र नेपालीको जित हो भन्दै आगामी दिनमा अझ कडा मेहनतको आवश्यकता रहेको बताए । उनले सुरुका दुई खेलमा नेपालले पराजय भोगेता पनि आत्मविश्वास र कडा परिश्रमले गर्दा जित हात पारेको बताए ।

नेपाली क्रिकेट टिमको स्वागत गर्न कप्तान पारस खड्काका हजुरबुबासमेत विमानस्थल पुगेका थिए । उनले टिममा सामेल सबै नातीहरुले नेपालको शान विश्वसामु पहिचान गराउन सकेको भन्दै बधाई दिएका थिए ।

टोलीलाई गौशाला, चावहिल, ज्ञानेश्वर, पुतलिसडक, सहिदगेट हुँदै नगरपरिक्रमा गराइ त्रिपुरेश्वर पु¥याइएको थियो ।

नगरपरिक्रमाको क्रममा स्थानीय जनताले खेलाडीलाई घरको छत, झ्याल र ढोकाबाट फूल तथा अबिर छर्कैर भव्य स्वागत गरेका थिए । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।