बैशाख २० । अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ छ र त्यहाँ करिब ३०० जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो ।

तर ती गाउँलेले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए ।

तिनै मानिसको भीडबाट एकजना १९ वर्षीया युवतीका पिता निस्किए । हातमा बन्ुदुक लिएका उनले आफ्नी छोरीमाथि प्रहार गरे ।

ती युवतीका पिताले आफ्नी छोरीलाई टाउको, पेट र छातीमा गरी तीनवटा गोली हाने, तर गाउँलेले त्यसको कुनै विरोध गरेनन् बरु उनीहरुले ताली बजाएर समर्थन गरे ।

धार्मिक अन्धविश्वासमा जकडिएको एक गाउँमा महिलामाथि गरिने कारबाहीको स्वरुप हो यो । ती गाउँहरुमा गल्ती गर्ने अथवा उनीहरुले तोकेका निश्चित कामहरुको विरुद्धमा जाने महिलालाई यसरी नै कारबाहीस्वरुप हत्या गर्ने गरिन्छ ।

हालिमा अफगानिस्तानकी एक १९ वर्षीया युवती हुन् । उनी यसअघि नै विवाहित युवती हुन् । उनका दुईवटा बालबच्चा पनि छन् । तर यी छोरीलाई आफ्नै पिताले कारबाहीस्वरुप यसरी गोली हानेर हत्या गरे ।

हालै भएको यस घटना सरसर्ती सुन्दा एउटा कुनै चलचित्रको काल्पनिक कथाजस्तो लाग्छ । तर यो अफगानिस्तानका महिलाको वास्तविकता हो र यसरी नै उनीहरुले आफूविरुद्धको हिंसा सहनु परेको छ ।

यसरी गोली खाएर ज्यानै गुमाउनुपर्नाको उनको दोष के थियो त ? उनको दोष थियो– उनी एकजना परपुरुषसँग लागेकि थिइन् रे । तर यसको कुनै प्रमाण छैन र उनले त्यो स्वीकारेकी पनि छैनन् ।
यसरी परपुरुषसँग लागेको भन्नेजस्ता कैयन काल्पनिक दोषारोपणबाट यो आधुनिक एवम् वैज्ञानिक समाजमा पनि अफगानिस्तानका कयौँ महिलाले बर्सेनि ज्यान गुमाउने गर्दछन् ।

सो घटनापछि अफगानिस्तानको उत्तरपश्चिमी प्रान्तका एकजना प्रहरी अधिकारीले भने– ती युवतीलाई परपुरुषसँग लागेको अरोप लगाइएको थियो, त्यसैले गाउँलेले नै उनीहरुको धार्मिक मान्यताबमोजिम सो कारबाही गरेका हुन् ।

यस्तो सार्वजनिक कारबाहीको नाम दिइएको घटनालाई अफगानिस्तानमा धार्मिक मान्यताबमोजिम बैध नै मानिन्छ । महिलाको चरित्रसम्बन्धी कुनै प्रश्न उठेमा उनलाई यसरी सार्वजनिक स्थलमा ढुङ्गाले हानेर वा यसरी गोली हानेर नै हत्यागर्ने गरिन्छ ।

उनी भार्खरै १९ वर्षकी भइन् र उनका श्रीमान कामका लागि इरानमा छन् । उनलाई यस्तो कारबाहीको निधो उनका पिताले नै गरका हुन् ।


उनले तालिवानीहरुको वकिललाई छोरीलाई कस्तो कारबाही गर्ने भनेर सोधेका र उनीहरुले सार्वजनिक स्थलमा गोली हानेर मार्ने भन्ने सल्लाह दिएपछि ती बुबाले यस्तो कारबाही गरेका थिए ।
ती प्रहरी अधिकारीले भने उनको परिवारसँग सो घटनाका बारेमा बुझ्नका लागि गएको बताएका छन् । तर उनलाई पक्राउ गर्ने योजना बारे भने उनले केही भनेनन् ।

ती अधिकारीले भने – हामी उनको घरमा घटनाबारे बुझन घटना भएको तीन दिनपछि पुगेका थियौँ तर उनको परिवार गाउँबाटै भागिसकेको थियो ।

उत्तरपश्चिमी प्रान्तक बाग्धीको कुकचहेल भन्ने गाउँमा गत अप्रिल २२ मा सो घटना भएको थियो । यस गाँउ धार्मिक कुसंस्कारमा जकडिएकोले यसअघि पनि त्यहाँ यस्ता घटना हुने गरेका छन् ।
उक्त हत्याको भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त भिडियोमा ३०० देखि ४०० जना गाउँले सो घटनामा उपस्थित भएका छन् र उनीहरुले उक्त हत्याको समर्थन गरेका छन् ।

उक्त भिडियोमा देखाइएअनुसार ती युवतीका पिता सो सार्वजनिक स्थानमा आउँछन र उनले आफूसँगको बन्दुक झिकेर तीन पटकसम्म प्रहार गर्छन् ।

ती गोली लागेर युवती ढलेपछि भने उनका भाइले आँखाबाट आँशु झारेको दृश्यपनि उक्त भिडियोमा देखाइएको छ ।

तर उनी सानो भएको र त्यत्रो सङ्ख्यामा गाउँले नै उपस्थित भएका तथा आफ्नै बुबाको हातमा बन्दुक भएकोले उनले केही बोल्न नसकेको जस्तो दृश्य उक्त भिडियोमा देखिन्छ ।

एम्नेष्टि इन्टरनेशनल र विश्वका महिलावादी सङ्घसंस्थाहरुले यस घटनाको व्यापक रुपमा विरोध गरेका छन् । उनीहरुले यस्तो घटनालाई महिलामाथिको अधिकारको हनन् मात्र नभएर आधुनिक मानव समाजकै पासविक घटना हो भनेका छन् ।

तर उनीहरुले यस्ता घटनाको विरोध गरिनै रहेतापनि अफगानिस्तानमा भने यी पासविक हत्या र दुव्र्यवहारहरुमा भने कमी आएको छैन । रासस÷एएफपी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।