रमेश गिरी, बैशाख १८ । उच्चमाध्यमिक शिक्षा परिषद्ले मंगलबारदेखि देशभर सञ्चालन गरेको कक्षा १२ को परीक्षामा यही वैशाख २३ गते संचालन गरिने अनिवार्य अङ्ग्रेजी विषयको आंशिक परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

मंगलबार बिहान नियमिततर्फको अङ«ग्रेजी विषयको परीक्षामा बाँके कोहलपुरस्थित वागेश्वरी एकेडेमीमा रहेको परीक्षा केन्द्रमा केन्द्राध्यक्षसहित कर्मचारीको लापर्बाहीका कारण सो दिनको अङ्ग्रेजी विषयको आंशिक परीक्षाको प्रश्नपत्र बाँडिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि आज साँझ परिषद् सानोठिमीमा बसेको परीक्षा समिति तथा बोर्ड सदस्यको बैठकले केन्द्रमा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षकलाई कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकपछि परिषद्का परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले अभियुक्तलाई तत्काल हटाइने र क्षतिक्षतिपूर्तिस्वरूप उक्त परीक्षा सञ्चालनका लागि लाग्ने थप रकम उनीहरूबाटै असुलउपर गरिने निर्णय गरिएको बताए । उनले भने—“उनीहरूलाई कारबाही गरी तत्काल हटाइने र क्षतिक्षतिपूर्ति उनीहरूबाटै भराउने गरी उक्त परीक्षा सञ्चालनका लागि लाग्ने थप रकम उनीहरूबाटै असुलउपर गर्ने निर्णय भएको छ, यसका लागि कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।”

त्यसै गरी वैशाख २३ गते सञ्चालन गरिने अनिवार्य अङ्ग्रेजी विषयको आंशिकतर्फको परीक्षा रद्द गर्ने निर्णय गरिएको छ । अर्को परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारेमा पछि जानकारी गराइने उनले बताए । परिषद्ले प्रश्नपत्र बाहिरिएको परीक्षा केन्द्र वागेश्वरी एकेडेमीमा रहेको परीक्षा केन्द्रसमेत रद्द गरी अर्को स्थानमा केन्द्र निर्धारण गर्न स्थानीय जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।

प्रहरी कार्यालयमा सुरक्षित राखिने प्रश्नपत्र परीक्षा केन्द्रका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र प्रहरीको रोहबरमा ल्याइने र सबैको रोहबरमा प्रश्नपत्र खोलिने गरी सबैलाई तालिम समेत दिइए पनि लापर्बाहीका कारण प्रश्नपत्र बाहिरिएको परिषद्को ठहर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।