बैशाख १७ । आगामी संविधानसभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा आज साँझ ५ बजेसम्म १० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार निवेदन दिनेमा नेकपा (एमाले), एनेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली काँग्रेस, नेकपा (माले), तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट) छन् ।

दल दर्ताका लागि आजसम्म आयोगबाट ३४ दलले फाराम लगिसकेका छन् । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३३ रहेको छ । तीबाहेक अन्य दलले आगामी संविधानसभाको निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदनसाथ कम्तीमा १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विसं २०६४ को निर्वाचनमा ५४ दलले भाग लिएका थिए । अहिले आयोगमा दर्ता रहेको दलको सङ्ख्या ११९ रहेको छ । तीमध्ये ७५ दलले निर्वाचनको चिह्न पाएका थिए भने ४४ दल पहिलो संविधानसभाको निर्वाचनपछि दर्ता भएका हुन् ।

दल दर्ता प्रयोजनका लागि प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ । आयोगले दल दर्ता प्रक्रिया सुरु भएलगत्तै निर्वाचनका लागि अनुकूल वातावरण बनेको प्रतिक्रिया दिएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।