बैशाख १७ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सहयोग गर्नका लागि भन्दै स्वयम्सेवक निर्माण गरेको छ ।

नवलपरासीको कावासोतीमा भेला गरी क्रान्तिकारीले स्वयम्सेवक दस्ता बनाएको हो । विशेष गरी अखिल क्रान्तिकारीको अभियानलाई सफल बनाउन यस्तो सङ्गठन निर्माण गरिएको हो ।

भेलाले पाँचबुँदे कार्यक्रम अगाडि सारेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको अभियानलाई सहयोग गर्ने, जिल्लामा अवैधरुपमा सञ्चालन रहेका निजी विद्यालय बन्द गराउने, आन्दोलनमा सहभागी हुने, शैक्षिक क्षेत्रमा देखिएको विकृतिका विरुद्ध लड्ने र विद्यार्थी हक अधिकारको मुद्दामा केन्द्रित हुने कार्यक्रम भेलाले अगाडि सारेको जिल्ला अध्यक्ष अशोक ज्ञवालीले बताए ।

क्रान्तिकारीले आइतबारबाट निजीस्तरमा सञ्चालन रहेका दुई वटा विद्यालय बन्द गराएर आफ्नो अभियान चलाएको जनाएको छ । विद्यासागर इङ्गलिस बोर्डिङ स्कुल रामनगर र आइसटाइन इङ्गलिस बोर्डिङ स्कुलका ताला बन्द गरेर अवैध निजी विद्यालयविरुद्ध आन्दोलन गरेको जनाएको छ ।

जेठमा हुने भनिएको स्ववियु निर्वाचनलाई ध्यानमा राखेर स्वयम्सेवक परिचालन हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

भेलाले हेमराज दाहालको अध्यक्षतामा २३ सदस्यीय क्रान्तिकारी विद्यार्थी स्वयम्सेवक जिल्ला कमिटी गठन गरेको छ । त्यसको उपाध्यक्षमा आशिष पाण्डे, सचिवमा अर्जुन घिमिरे, कोषाध्यक्षमा सुरक्षा अधिकारी र सहसचिवमा बाबुराम चापागाईं चयन भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।