बैशाख ७, रासस – चितवनमा आज बिहानसम्म बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ ।

अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो । गएरातिदेखि आज बिहानसम्म एक दर्जन प्राविधिक टोलीले सङ्क्रमित दुवै क्षेत्रमा कुखुरा नष्ट गरिरहेका छन् ।

गोनद्राङ्गको लक्ष्मी रानाको पोल्ट्री फार्ममा मात्रै ११ हजार दुई सय ८९ कुखुरा नष्ट गरिसकिएको छ । यहाँ धेरै कुखुरा रहेकाले अहिले त्यहाँको कुखुरा सुरक्षित राखिएको र बेलुका ४ बजेपछि पुनः नष्ट गर्ने क्रम सुरु हुने पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

भरतपुर–९ गोन्द्राङ्गस्थित रानाको फार्ममा करिब ५२ हजार कुखुरा पालिएको सञ्चालकले बताएका छन् ।

यस्तै, पश्चिम चितवनको मङ्गलपुरमा रहेको राजेन्द्र हमालको पोल्ट्री फार्ममा रहेको तीन हजार दुई सय कुखुरा भने नष्ट गरी सरसफाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी दवाडीले जानकारी दिनुभयो । यहाँको पाँचतले खोरमा कुखुरा पालिएको थियो ।

यस्तै, मङ्गलपुरको फार्मबाट दुई सय ६० केजी दाना र दुई सय ४० वटा अण्डासमेत नष्ट गरिएको जनाइएको छ । चितवनका दुईवटा कुखुरा फार्ममा एकै पटक बर्डफ्लु भेटिएपछि उच्च सर्तकताका साथ नष्ट गर्ने क्रम चलिरहेको चितवनका वरिष्ठ पशु चिकित्सक बोधनाथ अधिकारीले जानकारी दिए ।

यसअघि चितवनको गौरीगञ्जस्थित मिलन पोल्ट्री फार्ममा बडर््फ्लु भेटिएको थियो । सो फार्मबाट गोन्द्राङ्गको कुखुरा फार्म केही किलोमिटर मात्रै टाढा छ । गोन्द्राङ्गमा चैत २६ गतेबाट कुखुरा मर्न थालेपछि वैशाख २ गते नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको र हिजो मात्रै बर्डफ्लु भएको पुष्टि भएको थियो । कुखुराको राजधानी मानिएको चितवनमा शृङ्खलाबद्ध रूपमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि व्यवसायीहरू चिन्तित भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।