बैशाख ६ – सप्तरीको देउरी गाविसमा बाबुसहितका व्यक्तिहरू मिलेर आफ्नै छोराको हत्या गरेको मृतक बालककी आमाले आरोप लगाएकी छिन् ।

देउरी गाविस–३ सिम्राहा टोल निवासी रामलाल साहका तीन वर्षीय छोरा नरेशलाई बाबुसहित सौतेनी आमा सन्तोषी साह र सन्तोषीका पिता महेन्द्र साह मिलेर हत्या गरेको मृतककी आमा अमिरकादेवी साहले आरोप लगाएकी हुन् ।

घटनाबारे अनुसन्धान गर्न मृतक बालकका बाबु रामलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सन्तोषी साह र उनका पिता महेन्द्र साह फरार भएका छन् । करिब ६ वर्षअघि सप्तरीको देउरी गाविस–५ बस्ने अमिरकादेवीसँग विवाह गरेका रामलालले तीन वर्ष विदेश बसेर आएपछि डेढ महिनाअगाडि मात्र सप्तरीको बनैनियाँ गाविस–३ की सन्तोषीसँग विवाह गरेका थिए ।

एक हप्ताअघि गाउँमा पञ्चायती हुँदा गाउँलेहरूले अमिरकाको कोखबाट जन्मेका छोरा नरेशको नाउँमा पाँच कट्ठा जग्गा दिने निर्णय गरेका थिए ।

यस्तो निर्णय भएको एक हप्ता नबित्दै जेठी पत्नी अमिरकालाई माइती पठाएर नरेशलाई रामलाल र सन्तोषीले आफैँसँग राखेका थिए । बनैनियाँमा नै नरेशलाई खानेकुरामा विष हाली खुवाएको अमिरकादेवी र उहाँको माइती पक्षको आरोप छ ।

फरार भएका सन्तोषी र उनका पिता महेन्द्रको खोजतलास तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।