बैशाख ६ – भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटका दुई विद्यार्थीको अप्रत्याशित मृत्यु भएको छ ।
कलेजका अनेरास्ववियु क्याम्पस कमिटीका सदस्य कुशल खड्काको मोटरसाइकल दुर्घटनामा परी आज बिहान मृत्यु भएको हो ।
पश्चिम चितवनको रामपुरनजिक देवीचोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खड्काको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनी सवार ग७प ६०४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लमजुङ परेवाडाँडा स्थायी घर भई भरतपुरमा अध्ययनका लागि बस्दै आएका खड्का बिएससिएजीका विद्यार्थी हुन् । घटनालगत्तै उनलाई उपचारार्थ भरतपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
यसैगरी, इन्स्टिच्युटमै अध्ययनरत कैलाली घर भएका गणेश चौधरीको विष सेवनका कारण मृत्यु भएको छ । चौधरीले दुई दिनअघि विष सेवन गरेकामा उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनी भेटेरिनरीका विद्यार्थी रहेको कलेजले जनाएको छ । विष सेवन गर्नुको कारण खुल्न सकेको छैन ।



