बैशाख ६- विवाहको टीकाटालो गरेर केटा पक्ष फरार भएपछि के होला ? छिमेकीहरु बसेर फटाहा रछन् भनेर टुंग्याउलान्, या त घटनालाई ढाकछोप गरी टुंग्याउलान या यस्तै यस्तै ।

तर पूर्वी चितवनको रत्ननगर–८ पर्सौनीस्थित केटी पक्ष र स्थानीयवासीले भने केटा झिकाउनुपर्ने माग गर्दै बिहीबार पूर्वपश्चिम राजमार्गअन्र्तगत रत्ननगरको बकुल्लहरमा दुई घन्टा सडक अवरुद्ध गरेका छन् ।

एक्कासि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु भने बीच बाटामै अलपत्रमा परेका छन् । अपराह्न १ बजेदेखि बन्द रहेको राजमार्ग प्रहरीले बल प्रयोग गरी २:३० बजे खुलाएको थियो । सो क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

रत्ननगर–३ वेल्सी निवासी सुजन खनालले रत्ननगर–८ पर्सौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन ३० गते टीकाटालो गरेका थिए । यही वैशाख ११ गते विवाह गर्ने दिन तोकिए पनि केटा बिनाकारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटी पक्षले सडक अवरुद्ध गरेका हुन् ।

केटालाई झिकाउनुपर्ने माग गर्दै केटी पक्षले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । टीकाटालो गरेको दुई दिनपछि स्वयम् केटाले केटीलाई फोन गरेर “त्यो केटा अरू नै केटी लिएर भाग्यो, अब तिमी आफ्नो सुर गर” भनेर फोनसमेत गरेको केटीका काका रामबाबुले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।