सुमन श्रेष्ठ
भनिन्छ– ‘शत्रु खोज्न टाढा जानुपर्दैन, आफ्नै नजिककाहरू शत्रु बन्छन्।’ यो नेपाली टुक्का अहिले कोरियाली प्रायद्वीपमा लागू भइरहेको छ। कोरियाका यी दुई देश सन् १९१० को जापानको आधिपत्यअगाडि सम्पन्न र एकीकृत एउटै मुलुकमा थिए। दोस्रो विश्वयुद्धअगाडिसम्म पनि यी विभाजित भएका थिएनन्। तर, त्यसयताको आधा शताब्दी लगातार रूपमा यी दक्षिण र उत्तर कोरिया शत्रुका रूपमा आमनेसामने उभिइरहेका छन्। अहिले एकाएक कोरियाली प्रायद्वीपमा शान्ति भड्किएको छ र युद्धको त्रास बढेको छ।
केही समयअघिसम्म उत्तर कोरियालाई केही पनि होइन भन्ने संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान र दक्षिण कोरिया आज उसलाई मनाइदिनका लागि छिमेकी चीनसँग हारगुहार गरिरहेका छन्। आफू आणविक शक्तिसम्पन्न भएकै कारण दुनियाँलाई थर्काउन सफल अमेरिकाका विदेशमन्त्री जोन केरी उत्तर कोरियालाई आणविक परीक्षण गर्न दिनुहुन्न भन्दै बेइजिङ, सिओल र टोकियो पुगेर फर्किनुले पनि उनीहरू उत्तर कोरियासँग कति डराएका छन् भन्ने देखिन्छ।
ईशापूर्वदेखि नै छुट्टै राज्यको रूप लिएको ‘कोरिया’ वास्तवमा ईशापूर्वको राजवंश ‘गोगुरियो’बाट अपभं्रश भई ‘कोरिया’ देशको नामकरण भएको मानिन्छ। हजारौँ वर्षअगाडि एसियाको पूर्वी मध्यभागबाट बसाइँसराइ गरी आएको समूहबाट यस देशमा आवादी हुन गएको मानिन्छ र बिस्तारै त्यहीँ मानव सभ्यता विकास भएको मानिन्छ। हजारौँ वर्षमा विकसित भएको कोरियाली सभ्यता वास्तवमा एउटा छुट्टै सभ्यताका रूपमा, छुट्टै देशका रूपमा कोरिया बस्दै आएको भए पनि दोस्रो विश्वयुद्धको समाप्तिपछि एउटै देशका रूपमा रहन सकेन। कम्युनिस्ट पृष्ठभूमि भएको र रुस, चीनको सहयोगमा उत्तरी भागमा क्रान्ति गरी निश्चित भू–भागमा कम्युनिस्ट देश उत्तर कोरिया निर्माण भयो भने अमेरिकालगायतको सहयोगमा दक्षिणपन्थी पुँजीवादी सरकार गठन भई दक्षिण कोरिया निर्माण भयो। दुवै शक्तिले पूरै कोरियामा आफ्नो सरकार गठन गर्न चाहे पनि दुवै पक्ष सफल भएनन् र १९५३ मा अन्ततः एउटा अल्पकालीन युद्धविराम सन्धि भयो, जस अनुसार दुवै देशको अस्तित्व देखियो। हुन त अझै पनि दुवै देशका बीचमा स्थायी शान्ति सम्झौता भएको छैन र त्यसकारण पनि दुवै देश युद्धस्थितिमै छन् भन्न सकिन्छ। त्यो व्यवहारले पनि देखाएको छ। कहिले मञ्चु वंशको हमला, कहिले मंगोलहरूको हमला त कहिले जापानको उपनिवेश बन्न बाध्य कोरिया वास्तवमा अहिले पनि अमेरिकालगायत शक्तिको उपनिवेश बन्न बाध्य छ, अमेरिकालगायत शक्तिको प्रभावमा रहन बाध्य छ। कोरियालीको भावनाविपरीत आज पनि त्यहाँ अमेरिकी सेनाको आधारशिविर छ र त्यसको सम्पूर्ण खर्च दक्षिण कोरियाली सरकारले बेहोरिरहेको छ। यसरी आफ्नो सैद्धान्तिक र आर्थिक स्वार्थका लागि दक्षिण कोरियाको सुरक्षाका नाममा विदेशी सेना तैनाथ छन्। उत्तरमा ‘जुछे विचार’बाट पे्ररित मानिने सैनिक अनुशासन र आचरणमा आत्मस्वाभिमान र आत्मनिर्भर शासनले गर्दा देशको आर्थिक क्रियाकलाप नै सुस्त र संसारबाट एक्लिएको देखिन्छ भने दक्षिणचाहिँ सुरक्षा र प्रजातन्त्रका नाममा वैदेशिक नांगो हस्तक्षेपबाट पीडित छ।
आज फेरि उत्तर र दक्षिणको विवाद बढेको छ। दक्षिणलाई सहयोगका रूपमा सैनिक हतियार र तालिम दिएर अमेरिकाले युद्धको स्थितिमा बढावा गरेको छ भने उत्तरले झन् आफ्नो सेनालाई युद्धकालीन स्थितिमा तैनाथ गरेको छ। आणविक ऊर्जा र हतियार उत्पादन गर्नु आफ्नो सुरक्षा र आर्थिक विकासका लागि आवश्यक र अधिकार हो भन्ने उत्तर कोरियाको भावनामा हस्तक्षेप र नाकाबन्दी गरी आणविक हतियारमा एकाधिकार चाहने अमेरिकाका लागि निकै ठूलो हाँक मानिन्छ। सायद उत्तर कोरियाका पछाडि कुनै शक्ति नउभिएको भएमा उत्तर कोरियालाई समाप्त गरिसकिएको हुन्थ्यो होला तर सैनिक शक्तिमा विश्वको पाँचौँ ठूलो शक्ति तथा रुस र चीनको पनि नकारात्मक भूमिका नभएकाले अहिले अमेरिकाका लागि उत्तर कोरिया निल्नु न ओकल्नु भएको छ।
१ लाख २० हजार वर्गकिमि क्षेत्रफल र अढाइ करोड जनसंख्या भएको उत्तर कोरिया जनसंख्यामा ६ करोड भएको दक्षिण कोरियाभन्दा सानो छ तर १२ लाख सैनिक शक्ति भएको उत्तर कोरिया सात लाख सैनिक शक्ति भएको दक्षिण कोरियाभन्दा निकै मजबुत मानिन्छ। अझ १७ वर्ष पुगेपछि गर्नैपर्ने सैनिक तालिमले सबै नागरिक सैनिकसरह मानिन्छन्। करिब १ करोड ८० लाख जनतालाई युद्धमा सैनिकसरह उतार्न सक्ने खुबी उत्तरमा देखिन्छ। साथै, ८२ लाख रिजर्भ सेना र दुई लाख पारामिलिटरी गरी ९४ लाखको सैनिक शक्ति देखिन्छ। आफ्नो कूल राष्ट्रिय उत्पादनको जीडीपीको २५ प्रतिशत खर्च सैनिक र रक्षामा खर्च गर्दछ। तर, यसो भन्दैमा दक्षिण पनि धेरै कमजोर देखिँदैन। सात लाख आधुनिक हतियारले लैस सेना, तीन लाख रिजर्भ सेना र २९ लाख पारामिलिटरी गरी ३९ लाखको सैनिक शक्ति देखिन्छ र बर्सेनि ३० अर्ब डलरको बजेट पाउने र साथमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग र तालिम पाउँछ। त्यसो त अहिले नै हजारौँ थान मिसाइल प्रतिरोधक रकेटहरू प्राप्त गरिसकेको छ भने आवश्यक जस्तो पनि सहयोग पाउने निश्चित देखिन्छ। चार हजारभन्दा बढी ट्यांक, ४० पनडुब्बी, १ हजार ८ सय ५२ हवाईजहाज, ४ सय ७८ लडाकु जहाज, १ सय ८० वम वर्षक, आफ्नै उत्पादन कम्पनी, हवाई, स्थल, नेवीलगायत रेडगार्ड सम्मिलित उत्तरको सेना वास्तवमा धेरै हतियार रुसको प्रविधिमा आधारित भएको देखिन्छ। सबैभन्दा ठूलो हतियार भनेको आणविक हतियारयुक्त मिसाइल नै उत्तरको सम्पत्ति हो। नोडोङ, मुसुदान, टाएपोडोङ १, २ नामक यस्ता हतियारले एक हजार किमिदेखि चार हजार किमिसम्म मार हान्न सक्ने क्षमता देखिन्छ भने ६ हजार किमिसम्म हान्न सक्ने भन्ने आकलन गरिएको छ।
हुन त यी हतियारले अमेरिकाको मुख्य भूमिमा प्रहार गर्न नसकिए पनि अमेरिकी सेना रहेको गुआम द्वीपमा प्रहार गर्न सक्नेछ। जहाँ ६ हजार अमेरिकी सेना रहेको छ। साथमा अलास्काको केही भागमा प्रहार हुन सक्नेछ। यसकारण पनि अमेरिकालगायतका शक्तिहरू उसको आणविक कार्यक्रमबाट असन्तुष्ट छन् र कुनै पनि हालतमा रोक्न खोजिँदैछ। १९५७ मा रुसको सहयोगमा सुरु भएको आणविक कार्यक्रमले २००६ मा पहिलो आणविक हतियारको ‘टेस्ट’ गरेको थियो र निकै छोटो समयमा प्रगति गर्दै आएको छ। अर्कोतिर दक्षिण कोरिया पनि ५ हजार ८ सय ट्यांक, ६ सय हवाई लडाकु जहाज, १० पनडुब्बी, सात हजार मिसाइल प्रतिरोधक प्रणालीले लैस छ। यो शक्ति आफैँमा कमजोर होइन, यसकारण यदि यो क्षेत्रमा युद्ध भएमा सिंगो विश्व नै प्रभावित हुनेछ। हुन त आणविक हतियार आफैँमा डरलाग्दो र निकै खतरापूर्ण हतियार हो। यसको गलत प्रयोग भएमा सम्पूर्ण मानव सभ्यता नै समाप्त हुन्छ तर पनि हतियारको होडले गर्दा यसको विकास गर्ने देशको संख्या बढ्दो छ। आणविक अप्रसार सन्धिमा हस्ताक्षर नगर्ने देशहरूको संख्या बढ्दो छ भने आणविक विकास र कटौतीसम्बन्धी सन्धिमा भएका प्रावधान पनि द्वैध खालका छन्। आणविक हतियार विकास गरेको इजरायल, भारत, पाकिस्तानजस्ता देशले कार्यक्रममा कटौती गर्नुपर्नेमा त्यसो गरेको देखिँदैन। झन् यसलाई बढावा दिएर आणविक कार्यक्रममा आफ्नो एकाधिकार जमाएर विश्वमाथि हैकम जमाउने मनस्थितिमा देखिन्छ। साभारः विक्लीनेपाल
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।